अमरगढी डडेल्धुरा, ६ पुस : पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उहाँको भनाइ छ । तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफँैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।
गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने बताए । साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उहाँले बताए ।
तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताउनुभयो । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।
महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर डोटी– जोगबुढा डडेल्धुरा सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।
आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उनलाई चेतावनी दिइएको थियो । भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु । उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भने । तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।
रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई आलिताल भनेर चिनाउन थालेका हुन् ।
रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहनुभएको थियो उनी जीवित रहे । पछि शिव भगवान्ले उहाँलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत आली भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ ।
डाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए।
मोतियाबिन्दुको समस्या देखिएका सबै बिरामीलाई आइतबार र बिहीबार गेटा आँखा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ, उनले भने, बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क सवारीसाधनको पनि व्यवस्था गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी– आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक सयौँ आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।
उहाँले ग्रामीण क्षेत्रका न्यून आयस्तरका, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छभने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा पहुँच पुर्याएको छ ।
सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म विभिन्न २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ ।







