ललितपुर, ३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स को उद्घाटन समारोहमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले भने, निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।
निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उनले जानकारी दिए । मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।
सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गरे।
उहाँले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिनुहुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पारे । मन्त्री खरेलले भने, ‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।
डिस्कोर्सका निष्कर्षलाई सरकारले ग्रहण गर्ने
सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धता जनाए । उनले भजे ,जेनजीआन्दोलनपछिको पुनःनिर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्सले महत्वपूर्ण भूमिका खेल्ने छ । डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ, उनले भने ।
गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा मिडियाको भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उनको भनाइ छ । मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ ,उनले भने ।
सामाजिक सुरक्षा कोषमा आबद्धता
राज्यबाट सञ्चालित सञ्चार गोरखापत्र संस्थानका सञ्चारकर्मी तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
सञ्चारमन्त्री खरेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको परिचयपत्र वितरण गरे । मन्त्री खरेलले आफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति खुसी व्यक्त गरे।
उनले भन, सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेर सरकारको अभियानलाई साथ दिएकामा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु ।
संस्थानले १८० जना कर्मचारी तथा पत्रकारलाई सामाजिक सुरक्षामा आवद्धता गराउने जनाएको छ । मन्त्री खरेलले वर्षौंदेखि अड्किएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ओएनएम पारित गरेको जानकारी गराए।
सञ्चारमन्त्री खरेलले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गरे । उनले भने, गोरखापत्रले अब ‘डिजिटल हाइवे’मा रफ्तारमा अगाडि बढ्नुपर्ने छ । अब सबै ‘आउटलेट’लाई डिजिटल हाइवेमा अगाडि बढ्नुपर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफर्ममा देखिनुपर्ने छ ।







