विराटनगर । विगत ४/५ वर्षदेखि सडकमा कष्टपूर्ण जीवन बिताइरहेका अमर महतो नाम बताउने ३५ वर्षीय पुरुषलाई मानवसेवा आश्रम विराटनगर शाखाले सोमबार उद्धार गरी संरक्षणमा राखेको छ।
स्थानीयले खबर गरेपछि मानसिक रूपमा कमजोर महतोलाई आश्रमकाे उद्धार टाेलीले विराटनगर महानगरपालिका–१५ क्षेत्रबाट उद्धार गरेकाे हो। मनोरोगी कारण उनले शरीरमा करिब ४० जोर लुगा लगाएका थिए। कठ्याङ्ग्रिँदो जाडोमा लुगा माथि लुगा लगाएर हिँड्नसमेत कठिन अवस्थामा उनी विक्षिप्त भइ सडकमा अलपत्र अवस्थामा थिए ।
शारीरिक तथा मानसिक रूपमा कमजोर भई बेवारिसे बनेका महतोले न राम्रोसँग खान पाएका थिए, न त उपयुक्त लुगा नै। उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरी हाल उनकाे आश्रमको निगरानीमा उपचार सुरू गरिएकाे छ। हालसम्म उनको पारिवारिक पृष्ठभूमि खुल्न नसकेको र पारिवारिक पुनर्मिलनका लागि सहयोग गरिदिन मानवसेवा आश्रमले सबैमा आग्रह गरेको छ।
खुला सडकपेटी तथा सार्वजनिक स्थलमा जीवन बिताउन बाध्य बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवामा समर्पित मानवसेवा आश्रम एक गैरनाफामूलक सामाजिक संस्था हो। वि.सं. २०६९ भाद्र १३ गते मकवानपुरको हेटौँडाबाट सुरू भएकाे आश्रमले हाल देशभर २९ वटा शाखाहरू विस्तार गरी सेवा प्रदान गरिहरेकाे छ।







