चितवन, १ पुस : पोखराका व्यवसायी पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै चितवन आएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।
२७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिनुभयो । पोखरा महानगरपालिका र रेवान पोखराको संयुक्त आयोजनामा गर्न लागिएको महोत्सवले पोखरा भ्रमण वर्ष २०२५ लाई समेत टेवा पु¥याउने उनको विश्वास छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विदेशी पर्यटक नेपालमानै बसेर रमाउन सक्ने वातावरण बनाउनका लागि महोत्सव फलदायी हुने अपेक्षा आयोजकले लिएको उनले बताए ।
महोत्सवमा स्वादको उत्सव, संस्कृतिक कार्यक्रम, साहसिक तथा खेलकुदका गतिविधि, शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । पोखरामा रहेका होटलमा ४० हजार वेड रहेको र पाउनलाई व्यवस्थापन गर्न सक्नेगरी व्यवस्था मिलाइएको आयोजकको भनाइ छ । पाँच लाख पर्यटक भित्र्याउने गरी योजना बनाएर महोत्सवको प्रचारप्रसार गरीएको गौतमले बताए । उनले भने, जेनजी आन्दोलन पछि सुस्ताएको पर्यटन व्यवसायलाई केही टेवा पुग्ने लक्ष्यका साथ लागेका छौँ ।
एउटा जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई अर्को जिल्लामा तान्न सकेमा दुबै जिल्लाको अर्थतन्त्र चलायमान हुने सो अवसरमा जानकारी दिइएको थियो ।







