गोरखा, १ पुसः पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहेका उनले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताए ।
दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन, पूर्वउपराष्ट्रपति पुनले भने, जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ । उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेकामा पूर्वउपराष्ट्रपति पुनले जोड दिए। नेपालमा केही हुँदैन, युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, उनले भने, त्यो अन्यन्त गलत र भ्रम हो ।
अहिलेको प्रयासले मात्र नेपाललाई वैज्ञानिक समाजवादमा पु¥याउन नसिकने पूर्वउपराष्ट्रपति पुनले बताए। वामपन्थी शक्तिलाई ध्रुवीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्ने उनको धारणा छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई ठूलो धक्का दिएको पूर्वउपराष्ट्रपति पुनको भनाइ छ । उनले भने, जेनजीले उठाएका मुद्दा कार्यान्वयनमा हामी सङ्र्घषरत छौँ ।







