तुलसीपुर दाङ, २४ मङ्सिरः नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिएका थिए ।
विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर भाडामा लिएको उक्त जग्गाको सम्झौता २०८१ असार ३० गते सकिएको छ । सम्झौताको म्याद गुज्रेको एक वर्ष भइसक्दा पनि त्यहाँबाट भाडा आउन सकेको छैन । सोही जग्गाबाट रु ५६ लाख ६५ हजार भाडा तिर्न बाँकी रहेको विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताए ।
उनका अनुसार सुरुको तीन वर्षसम्म डाँगीले बाख्रा पालन गरे । त्यसपछि उनले बाख्रा पालन गर्न छाडेर योगी आदित्यनाथ फाउन्डेशनलाई दिए । अहिले त्यो जग्गा सोही फाउन्डेशनले नै प्रयोग गर्दै आएको छ । त्यहाँ अहिले गौशाला सञ्चालनमा रहेको छ । सम्झौता सकिएकै एक वर्ष भइसकेको छ । सम्झौता भएअनुसार मात्रै भाडा लिन मिल्ने र सम्झौताभन्दा पछिको भाडा नमिल्ने भएकाले भाडा पनि लिइएको छैन ।
सम्झौतासम्मको मात्रै भाडा लिन मिल्छ, तर अहिलेसम्म पनि प्रयोग भइरहेको छ, सम्झौताको मिति सकिएकै एक वर्ष भइसकेको छ, रजिष्ट्रार अधिकारीले भने, पछिल्लो एक वर्षको हिसाब नै भएको छैन । डाँगीसँगै वार्षिक रु पाँच लाख ४४ हजार भाडा रकम दिने सम्झौता भएको थियो । त्यो भाडामा वार्षिक १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको थियो । विश्वविद्यालयको केन्द्रीय कार्यालय र आवासगृह नजिकै गौशाला सञ्चालन गरेकाले वरिपरि मरेका गाइको गन्धले बस्नै नसक्ने अवस्था हुने उपकुलपति धनेश्वर नेपालले बताए । हामीले ठेक्का तोड्ने भनि पटक–पटक बोलायौं, २०÷२१ पटक बोलाउँदा पनि आएनन्, उनले भने ।
यसरी अटेर गरे कानुनी कारबाही अगाडि बढाउनुपर्ने उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । उक्त गौशाला सञ्चालन गर्दा रु एक करोड भन्दा बढी लगानी भएको भन्दै त्यो लगानी दिएमा उपमहानगरपालिकालाई हस्तान्तरण गरिदिने गौशालाका सञ्चालक भरतनाथ योगीले बताए । यो विषयमा आफूले प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरिसकेको उनको भनाइ छ ।
गाई संरक्षण गर्ने कुरा पवित्र उद्देश्यले नै सुरु गरिएको भए पनि यसलाई सञ्चालन गर्न निकै चुनौति रहेको उनको भनाइ छ । अहिले गौशालामा काम गर्नका लागि सात कर्मचारी राखेको समेत उनले बताए। अहिले त्यहाँ करिब ३०० गाई छन् ।







