गुल्मी, २४ मङ्सिरः यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन । सरोकारवाला संस्थाद्वारा कफी कृषकसँग कफीखेती विस्तारका लागि गरिएको छलफल तथा अन्तक्र्रियामा कृषकले सहयोगको अपेक्षा गरेका हुन् ।
कफी विकास केन्द्र आपचौर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कफी अनुसन्धान कार्यक्रमको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । कफी विकास केन्द्रमा गरिएको कार्यक्रममा जिल्लामा पछिल्लो समयमा किसानमा कफीखेतीमा आकर्षण बढ्दै जान थाले पनि आशातित रुपमा कफीका बगैँचा सुक्दै जान थालेको बताइएको छ ।
कार्यक्रममा कफीविज्ञ तथा सरोकारवालाले कफी नेपालको महत्वपूर्ण नगदेवाली भएको औँल्याउँदै तीनै तहका सरकारले कफीखेतीमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । जिल्लामा कफीको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी निकाय तथा कफी सहकारी भए पनि उनीहरुबीच आपसी समन्वयको अभाव रहेको स्थानीय रुद्र खरेलले बताए। कफीमा काम गर्ने कार्यालय धेरै हुँदा पनि कफीखेतीमा कृषकहरुको सहभागिता घट्दै जान थालेको खरेलको भनाइ थियो ।
कफी अनुसन्धान कार्यक्रम बलेटक्सारका प्रमुख जनार्दन गौतमले विश्वमै स्वादका आधारमा नेपाली कफी सातौँ स्थानमा पर्ने हुँदा नेपालको कफीको विश्व बजारमा राम्रो माग भएको जानकारी गराएका थिए । उहाँले बाँझो जमिनमा समेत कफीखेती गरेर राम्रो आम्दानी लिन सकिने हुँदा यस क्षेत्रमा किसानलाई थप प्रोत्साहित गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मीलाई चिनाउने मुख्य आधार कफी नै भएको भन्दै यसको व्यावसायिक उत्पादन र प्रवद्र्धनका लागि स्थानीय स्तरबाट नै सबै जागरुक हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका सहभागी कफी कृषकले कफीको व्यावसायिक उत्पादनका लागि स्थानीय पालिकाले कृषकलाई टिकाइ राख्ने वातावरण बनाउन बिरुवा, छहारी व्यवस्थापन र प्राविधिक विषयमा स्थानीय तहले अनुदानका थप कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।
किसानले प्रत्येक पालिकाले वार्षिक रुपमा कम्तीमा पाँच हजार कफीका बिरुवा रोपण कार्यक्रम अघि बढाउनुपर्ने, कफी उत्पादक कृषकले कफीखेतीमा देखिएका समस्या, प्राविधिक ज्ञान र बजार विस्तारसँगै ५० रोपनी जग्गामा कफी लगाउने कृषकलाई स्थानीय तहले प्रोत्साहनका प्याकेज अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले मुसिकोट नगरपालिकाले कफी कृषकका लागि उपलब्ध गराउँदै आएको अनुदानमा वृद्धि गर्दै लगेको भन्दै आगामी दिनमा यसको विस्तारका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । गुल्मीभित्र रहेका कफी किसानको सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धिताल, कफी विकास केन्द्र आपचौरका प्रमुख राहुल पाण्डेयले जिल्लामा कफीखेतीको वर्तमान अवस्था र यसका चुनौतीका बारेमा जानकारी गराएका थिए ।
नेपालमा कफी जननी जिल्ला गुल्मीमा अहिले २४१ हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । जिल्लामा गत वर्ष ३० मेट्रिक टन कफी उत्पादन भएकामा आठ टन ग्रिनबिन मात्र तेस्रो मुलुकमा निर्यात भएको थियो । जिल्लामा एक हजार ८०० भन्दा बढी कृषक कफीखेतीमा आबद्ध बनेका छन् ।
पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र, कफी अनुसन्धान कार्यक्रम, कफी सहकारी संस्थालगायत स्थानीय तहले समेत कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।







