४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीको पानी रत्नेचौरमाः एक घर, एक धारा

म्याग्दी, २३ मङ्सिर ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए ।

विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उनले भने , उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।

रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पु¥याइएको छ ।

सुन्दरचौरको ट्याङ्कीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पानी तानेर रत्नेचौर र सालघारीमा रहेका दुई वटा रिजर्भ ट्याङ्कीमा फरक÷फरक पाइप लाइनमार्फत आपूर्ति भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की, सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को ट्याङ्कीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ । विद्युतीय उपकरणको सहायताले कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपुर्ति भएको कार्यालय प्रमुख ओझाले बताए । एक हजार सात सय मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन निर्माण भएको छ ।

रत्नेचौरबासीको घरघरमा मिटर जडित धाराबाट पानी वितरण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए । संरचनाको परिक्षणका साथैमा त्रुटी देखिएको ठाउँमा मर्मत र सुधार भइरहेको उनले बताए । योजनाको दिर्घकालीन सञ्चालन र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको छ ।

रत्नेचौरका बासिन्दा सरला पुनले सार्वजनिक धारामा पालो कुरेर पानी ल्याउनुपर्ने समस्या हटेको र समयको बचत भएको बताए । निजी धारामा पानी आउन थालेपछि समयको बचत र झञ्जट हटेको छ,” उनले भने , सार्वजनिक धाराबाट ८–१० घरले पालो लगाएर पानी ल्याउँदा भनेको समयमा नपाउने समस्या थियो ।

उपभोक्ता अमर पुनले धारा निर्माण भएको तीन वर्षपछि पानी आएको बताउदै खुसी व्यक्त गरे। व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाईमा पनि सहयोग पुगेको उनको अनुभव छ ।

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । पुरानो मुहानबाट हिउँदयाममा पानीको स्रोत सुक्ने र अभाव हुन थालेपछि दीर्घकालीन रुपमा खानेपानी आपूर्तिका लागि लिफ्ट प्रविधिको योजना निर्माण गर्नुपरेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तीले थलिएको योजनालाई जनप्रतिनिधि, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न गराएको वडाध्यक्ष थापाले बताए ।

सङ्घीय सरकारले गण्डकी प्रदेशलाई उपलब्ध गराएको विशेष अनुदानको यस योजना निर्माणका लागि विसं २०७६ असार २४ गते प्राकृतिक–प्रदीप जुम्ली जेभीले रु दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको थियो । भौतिक संरचना निर्माण ठेक्का, शाखा पाइपलाइन खन्ने र पुर्ने उपभोक्तामार्फत गरिएको हो भने पाइप र फिटिङका सामग्री कार्यालयले खरिद गरेर उपलब्ध गराएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा अनावश्यक संरचना र लागतलाई ठेक्का सम्झौताको रकम घटाएर रु दुई करोड ४० लाख बनाएको थियो । पाइप र फिटिङका सामान खरिदमा रु ६० लाख ६९ हजार, विद्युतीकरणमा रु ३३ लाख ८६ हजार, शाखा लाइन खन्ने र पुर्न उपभोक्ताको रु ४२ लाख तथा आयोजना व्यवस्थापनमा रु १० लाख १५ हजार खर्च भएको कार्यालय प्रमुख ओझाले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि