चितवन, २२ मङ्सिरः राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो । उनले भने, हरेक वर्ष गोही नदीमा छाडिन्छ, तिनको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको हो ।
राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । ती गोहीको सङ्ख्याका लागि गणना गर्न लागिएको हो । थापाका अनुसार राप्ती नदीको लोथरदेखि गोलाघाट हुँदै त्रिवेणीसम्म र नारायणी नदीको गाँजीपुरदेखि गोलाघाटको राप्ती नदीसँगको सङ्गमस्थल सम्म गणना गरिने छ ।
गोही गणनाका लागि निकुञ्जका प्राविधिक, नेपाली सेना र बोटे समुदायका व्यक्ति परिचालन गरिएको उहाँले बताए । उनले भने, गोही गणना तथा अनुगमनका लागि आठ जनाको टोली खटिएको छ । गणनाका लागि नदीमा भएका भङ्गालाहरुमा आधारित भएर समय बढी लाग्नसक्ने उनले जानकारी दिए ।
यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न नदीमा छाड्ने गरिन्छ । सन् १९९५ देखि हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १०५ गोही छाडिएको उनले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा १३३ र यस आर्थिक वर्षमा १५ गोही छाडिएको छ । नदीमा छाडिएका गोहीमध्ये कतिपयलाई नदीले बगाएर लैजाने गर्दा गोहीको सङ्ख्या अपेक्षाकृत हुन नसकेको उनले बताए ।
गत वर्ष गरिएको गणनाका क्रममा ती नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन् । राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ गोही भेटिएका थिए । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मा लगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्ने लगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए ।







