दोहा कतार, २१ मङ्सिरः राष्ट्रिय समाचार समिति कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी क्युएनए का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।
‘दोहा फोरममा सहभागी हुने क्रममा कतारमा रहेका कार्यकारी अध्यक्ष झाले आज क्युएनएको प्रधान कार्यालय पुगी उच्च अधिकारीहरूसँग सहयोग र सहकार्य लगायत समसामयिक विषयमा छलफल गरेका हुन् ।
सो अवसरमा क्युएनएका समाचार विभागका निर्देशक युसुफ याकुब अल हमादी र कानुन विभागका सहायक निर्देशक आम्ना अहमद अल हमैदीले कार्यकारी अध्यक्ष झालाई स्वागत गर्दै समझदारीपत्रमा उल्लेख भएबमोजिम सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन क्युएनएका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्युएनए र राससका बीच समाचार आदानप्रदान गर्ने सहमति भएपछि कतार र नेपालका साथै दुवै देशका जनता लाभन्वित भएकामा खुसी व्यक्त गर्दै क्युएनएका उच्च अधिकारीहरूले आपसी भ्रमण तथा तालिम कार्यक्रमको व्यवस्था गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ, सुदृढ र मित्रवत् बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले मित्रराष्ट्र कतारको समाचार समिति ‘क्युएनए सँग साझेदारी र सहकार्य गर्न पाउनु नेपाल र राससका लागि खुसीको विषय भएको उल्लेख गर्दै नेपाली समुदायको उल्लेख्य बसोबास रहेको हाम्रो एक महत्वपूर्ण मित्रराष्ट्र कतारसँग सम्बन्धित समाचार सामग्रीलाई उच्च प्राथमिकता दिई राससले सम्प्रेषण गर्दै आएको जानकारी दिए ।
राससको सेवा र नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै कार्यकारी अध्यक्ष झाले गुणस्तरीय समाचार सामग्री सहित क्षमता अभिवृद्धिसम्बन्धी तालिम, पुस्तकालय सुदृढीकरण, सङ्ग्रहालय स्थापना तथा व्यवस्थापन र आधुनिक सूचना प्रविधिका क्षेत्रमा उदाहरणीय काम गरिरहेको स्रोतसाधन सम्पन्न क्युएनएबाट सहयोगको अपेक्षा गरेको बताए।
उनले नेपालको मध्यपूर्वमा द्विपक्षीय सम्बन्ध भएको, धेरै नेपालीको बसोबास रहेको र चमत्कारिक रुपमा विकास गरिरहेको समृद्ध एवं वैभवशाली देश कतारबाट नेपालीले सिक्नुपर्ने विषय धेरै रहेको प्रसङ्ग उल्लेख गरे ।
कार्यकारी अध्यक्ष झाले दुवै देशका समाचार संस्थाबीच समाचार सामग्री आदानप्रदान गर्ने क्रममा हामीबीच यसअघि भएको औपचारिक समझदारीलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग र सहकार्यको नीतिलाई अझ प्रभावकारी, फलदायी र उपलब्धिमूलक बनाउने सन्दर्भमा क्युएनए उच्च अधिकारीहरूबाट प्राप्त हार्दिकता, सदासयता र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरे ।
कतारका राजाको औपचारिक भ्रमणका क्रममा २०८१ साल वैशाख १२ गते काठमाडौँमा आयोजित विशेष समारोहमा र क्युएनए बीच समाचार सामग्री आदानप्रदान सम्बन्धी समझदारी भएको थियो । नेपालको विकास निर्माणसहित विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको र कामका सिलसिलामा उल्लेख्य सङ्ख्यामा नेपाली समुदायको बसोबास रहेको ‘कतार को सरकारी समाचार समिति ‘क्युएनए’ र नेपालस्थित राज्यद्वारा सञ्चालित राससबीच समाचार सामग्री आदानप्रदान हुँदै आएको छ ।







