काठमाडौँ । मानवसेवा आश्रम धनगढी शाखाको आफ्नै भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ। सडकमा बेवारिसे बनेका व्यक्तिहरूलाई मानवोचित व्यवस्थापन गर्नका लागि निर्माण थालनी गरिएको आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सुदूरपश्चिम प्रदेश निर्माणमा सहयोग गर्नेछ ।
गत वर्ष माघ महिनामा धनगढीमा सम्पन्न श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा मनकारी दाताहरूले प्रदान गरेको सहयोगबाट भवन निर्माण कार्य थालिएको हो। धनगढी शाखाले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हालसम्म २८३ जनाको उद्धार गरिसकेको छ भने ५८ जना आश्रमको संरक्षणमा रहेका छन्। भाडाको घरबाट सेवा प्रवाह गरिरहेको शाखाले अब धनगढी १५, कनरीस्थित आफ्नै ‘लक्ष्मीनारायण आवास भवन निर्माण सुरू गरेको हो ।
आश्रमले २०७६ साल वैशाख ३१ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सुदूरपश्चिम प्रदेश निर्माणको लक्ष्यका साथ धनगढीमा आफ्नो १०औँ शाखा स्थापना गरेको थियो। भवन निर्माण स्थलमा शुक्रबार भूमिपूजन समारोह आयोजना गरिएको थियो जसमा आश्रमका अभिभावक, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो । आश्रमले महायज्ञमा सहभागिता जनाई सहयोग र सहकार्य प्रदान गरेका सबै दाताप्रति हार्दिक आभार प्रकट गरेको छ।
मानवसेवा आश्रमले एक गाँस भोजन र एक सरो कपडाको अभावमा खुला आकाशमुनी जीवन बिताउन बाध्य व्यक्तिहरूलाई खाना, नाना र छानाको व्यवस्था गर्दै २०६९ साल भदौ १३ गते मकवानपुर, हेटौँडाबाट सेवा प्रारम्भ गरेको हो।







