तुलसीपुर दाङ, १८ मङ्सिरः दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् ।
खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास समितिको रु आठ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । अहिले संरक्षणको काम पनि समितिले गरिरहेको छ ।
करोडौँ लगानी गरेर रङ्गशाला निर्माण भएको छ, समितिका इञ्जिनियर तुलसी अर्यालले भने, तर खेल नहुँदा घाँस उम्रिनुका साथै फोहरले अव्यवस्थित बनेको छ । खेल भएमा जति बेला पनि रङ्गशालामा उम्रिएको घाँस काट्न सकिने जनाउँदै उनले अहिले घाँस काटे पुनः उम्रिहाल्ने उल्लेख गरे ।
घाँस काट्दा खर्च मात्रै हुने हो । खेल नहुने भएपछि घाँस काट्नुको पनि कुनै अथै छैन । राष्ट्रियस्तरका खेल खेलाउन सकिने गरी मैदान तयार भएको छ, इञ्जिनियर अर्यालले भने तर, खेल सञ्चालन नहुँदा लगानी र समय खेर गएको छ । विगतमा राष्ट्रपति रनिङशिल्ड, मेयर कपलगायत प्रतियोगिता सञ्चालन भए पनि पछिल्ला वर्षमा त्यो पनि नभएको उनको भनाइ छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले खेलतालिका बनाएर खेल खेलाएमा सहज हुने इञ्जिनियर अर्यालले धारणा राखे । रङ्गशालामा प्याराफिट पनि निर्माण भइसकेका छन् । तीन सय ९० सिट क्षमताको भिइपी प्याराफिट र दुई हजार सिटको दर्शक प्याराफिट निर्माण भइसकेको उनले जानकारी दिए । नगर विकास समितिले उक्त रङ्गशाला क्यानलाई हस्तान्तरण गर्न खोजिरहे पनि हुन सकेको छैन ।
हाल रङ्गशाला परिसरमा १५ वटा व्यापारिक सटर रहेकाले सोबाट रु एक लाख ५० हजार मासिक आम्दानी हुने गरेको इञ्जिनियर अर्यालले जानकारी दिए। यसअघि, सोही मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । रङ्गशाला चार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
रङ्गशालामा नेपाल प्रिमियर लिग एनपिएल का खेल सञ्चालन गर्न सक्ने क्षमताको रहेको क्रिकेट सङ्घ दाङका अध्यक्ष प्रदिप मज्गैयाले बताए । सरकारले यो रङ्गशालाको महत्व बुझ्न नसकेको उनको गुनासो छ ।







