तनहुँ, १७ मङ्सिरः जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।
सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपुर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ ।
उनले भने, यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तिमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिक रूपमा खेती गर्दै आएका छन् । यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए ।
मङ्सिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् । कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि छन् ।
स्थानीय तारा थापाले यस वर्ष रु तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेको जानकारी दिए। सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उनीहरूको भनाइ छ । सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ, ताराले भने ।
स्थानीय कृषक मनसिंह थापाले रु दुई लाख १० हजारको सुन्तला बेचेका छन् । सुन्तला खेतीगर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए । दिनबहादुर थापाले रु तीन लाखको सुन्तला बेचे । घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ । सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्, उनले भने, सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।
यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताए। उनले भने, पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु । बेनीकोटका स्थानीयले यस वर्ष रु दुई करोड बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।







