काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि ‘बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेर गए’ भन्ने दाबी गर्दै गरिएको प्रचारबाजी पूर्ण रूपमा असत्य रहेको खुलासा भएको छ। उक्त महिला बागलुङ तमानखोला गाउँपालिका १ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्याल रहेको खुलेको छ। सामाजिक सञ्जालमा प्रचार भएको जस्तो उनका न त छोरा छन्, न बुहारी नै उनीसँग मात्र एक छोरी छन् । छोरी जमुना छन्त्यालकाअनुसार उनी १५ वर्षदेखि मनोरोगी हुन्।
मंसिर ८ गते राति करिब २ बजे काठमाडौँ महानगरपालिका–२६, रानीवारीस्थित घरबाट कृष्णकुमारी अचानक बाहिर निस्किएपछि उनी हराएकी थिइन्। छोरीले आमाको खोजीका लागि विभिन्न स्थानमा रिपोर्टसमेत गरेकी थिइन्। तर सामाजिक सञ्जालमा आएको झूटो आरोपले परिवारको प्रतिष्ठामा चोट पुगेको छ।
आमाका छोराबुहारी कोही छैन म मात्र एक्ली छोरी हो आमा हराएपछि हामीले अहोरात्र खोजिरहेका थियौँ। मिडिया र सामाजिक सञ्जालमा झूटो कुरा बनाइयो, र परिवारलाई बदनाम गरियो, भन्दै छोरी जमुनाले गुनासो पोखिन्। कीर्तिपुरस्थित मसानघाट नजिकै एक्लै भेटिएपछि स्थानीयले उद्धारका लागि जानकारी गराएपछि मानवसेवा आश्रमले उद्धार गरी किर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पतालको सहकार्यमा उनको उपचार सुरू गरियो ।
उद्धार पश्चात उनलाई १२ घन्टा इमर्जेन्सीमा राखी निगरानी गरियो त्यसपछि २४ घन्टा हाई डिपेन्डेन्सी युनिटमा राखि उपचार गरियो। हाल उनलाई वार्डमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कीर्तिपुर अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार उनको शरीरमा गम्भीर भित्रि समस्या केही नभई मानसिक स्वास्थ्यसम्बन्धी समस्या मात्र देखिएको हो । मानवसेवा आश्रमले उनको परिवारसँग सम्पर्क स्थापित भएकाले केही दिनमै पारिवारिक पुनर्मिलन गरिने जानकारी दिएको छ ।







