बाग्मती, १६ मङ्सिरः मकवानपुरको हेटौँडा उपहानगरपालिका–१६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले स्थापना गरेको अक्षयकोषमा रु ४० लाख सङ्कलन भएको छ ।
गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयद्वारा स्वर्ण जयन्तीका अवसरमा अक्षयकोष स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बास्ताकोटीका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाटै अक्षयकोषमा रु आठ लाख सहयोग सङ्कलन भएको छ ।
यस्तै सो अक्षयकोषमा शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी, पूर्वविद्यार्थी, सल्लाहकार, स्थानीय समाजसेवी लगायतले आर्थिक सहयोग गरेका थिए । स्वर्ण महोत्सव मनाउने क्रममा दुई साताअघि विद्यालयले अक्षयकोषको घोषणा गरेको थियो । अक्षयकोषमा आर्थिक सहयोग सङ्कलन हुने क्रम जारी रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताए ।







