म्याग्दी, १६ मङ्सिरः भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामस्तरबाटे आयोजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधिकारी र सदस्यको झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।
घुम्ती शिविर आयोजना गरेर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा कार्यालयमा पुगेर उपभोक्ता समितिसँग आयोजना सम्झौता गर्न थालेका हुन् । धवलागिरि–४ मुदीमा सोमबार भएको घुम्ती शिविरमा १३ वटा उपभोक्ता समितिसँग आयोजना सम्झौता भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दुर्गम गाउँबस्तीका बासिन्दालाई सिंहदरबार गाउँमा आएको महसुस गराउन वडामै पुगेर आयोजना सम्झौता गरिएको बताए।
गाउँपालिकामा पुगेका उपभोक्ता समितिका पदाधिकारीहरू वडाको सिफारिसमा कुनै त्रुटि भए सच्याउन र अपुग कागजातका लागि पुनःवडामा फर्कनुपर्दा दुःख हुने भएकाले हामी आयोजना सम्झौताका लागि घुम्ती शिविर लिएर वडा कार्यालयमा पुगेका छौँ, उनले भने, यसरी वडामै सम्झौता गर्दा उपभोक्तालाई झन्झट हटेको छ ।
चालु आवका लागि बजेट विनियोजन भएका आयोजनाको प्राविधिक टोलीले सर्वेक्षण, लागत अनुमान र नक्सा तयार पारेर उपभोक्ता समिति गठन गरेपछि घुम्ती शिविरमार्फत सम्झौताको व्यवस्था मिलाइएको धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताए। मुदीमा चावका १६ मध्ये १३ वटाको समिति गठन र सम्झौता गरी कार्यान्वयन प्रक्रिया थालिएको उनले जानकारी दिए ।
आयोजना सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, प्रशासन र प्राविधिक शाखाका प्रमुखसहितको टोली वडामा पुगेको छ । चालु आवमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने आयोजनाको यही मङ्सिरभित्र सम्झौता गरी चैतसम्म अन्तिम किस्ता भुक्तानी गर्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बउल्ल्खे गरे।
गाउँपालिकाले स्थानीय कार्यालयमा पुगेर आयोजना सम्झौता गर्न अपायकपर्ने मुदीका साथै मुनासहित ताकम, मराङ र मल्कवाङमा पनि घुम्ती शिविर आयोजना गर्ने तयारी गरेको उनले बताए । उनका अनुसार रु १० लाख भन्दा बढी बजेटका आयोजना ठेक्कामार्फत र रु १० लाखभन्दा कम बजेटका आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने छ ।
धवलागिरि गाउँपालिकाले चालु आवमा करिब १५० वटा आयोजना छनोट गरेको छ । सातवटै वडा कार्यालयमा खटिएका प्राविधिकले आयोजनाको सर्वेक्षण, लागत अनुमान र डिजाइन तयार पारेपछि जनप्रतिनिधिले उपभोक्ता समिति गठन गरेर सम्झौताको तयारी गरेका छन् ।
वडा कार्यालयमै आयोजना सम्झौता भएपछि गाउँपालिका जान र आउन हुने समय तथा खर्चको बचत हुनुका साथै अन्य झन्झट हटेको धवलागिरि–४ को बगर–जेल्तुङ खानेपानी मर्मत आयोजनाको उपभोक्ता समितिका अध्यक्ष यमप्रसाद घर्तीले बताए ।







