काठमाडौँ । छोरालाई भेट्ने उद्देश्य लिएर ७२ वर्षीय जगदीश शाह एक हप्ता अघि भारतको मोतिहारीबाट नेपाल आइपुग्छन्। तर, साथमा मोबाइल रहेको भए पनि छोरासँग सम्पर्क नहुँदा उनी परिवारबाट सम्पर्कविहीन अवस्थामा रहन्छन्।
काठमाडौँमा बेवारिसे अवस्थामा भेटिएपछि मानवसेवा आश्रम रानीवन शाखाले उनलाई उद्धार गरी संरक्षणमा राख्यो। पारिवारिक पुनर्मिलनका लागि आश्रमले उनको पृष्ठभूमि पत्ता लगाउँदा उनी भारतीय नागरिक रहेको पत्ता लाग्छ । खोजतलासीका क्रममा उनीसँग रहेको मोबाइलको आधारमा परिवारसँग सम्पर्क भइ पुनर्मिलनको प्रक्रिया अगाडि बढ्छ ।
यता छोरा पनि नेपाल आएपछि हराइरहेका बुवा नभेटिँदा चिन्तामा थिए। भारतबाट उनका आफन्तले बुवा सुरक्षित रूपमा मानवसेवा आश्रम रानीवन शाखामा रहेको खबर पाएपछि हर्षित हुँदै आश्रमसम्म भेट्न पुग्छन्। आश्रमले छोराको जिम्मा लगाउँदै आइतबार बिहान उनको सुन्दर पारिवारिक पुनर्मिलन गराएको हो।
मानवसेवा आश्रमले नेपाली नागरिक मात्र नभई हराएका विदेशी नागरिकहरूको पनि उद्धारसँगै पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । उद्धारको समयमा मात्र वास्तविक सहयोगापेक्षी पहिचान गरी उद्धार गरिन्छ र आश्रमले आफ्नो कार्यमा कहिल्यै भेदभाव नगरी मानवताका लागि सबैलाई स्वागत गर्ने दृष्टिकोण साथ सेवालाई प्रभावकारी बनाउँछ ।
आश्रमले विशेष गरी जसको केही छैन, जसको कोही छैन, उनीहरूको सेवामा केन्द्रित भएर तीव्र रूपमा सेवा कार्य बढाउँदै आएको छ। यसैगरी, मानवता प्रवर्द्धनसँगै “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण” लक्ष्यसहित मुलुकभर उद्धार सेवा अभियान निरन्तर अघिबढिरहेको छ।







