४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दी, १४ मङ्सिरः म्याग्दीको मङ्गला गाउँपालिका ५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।

टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ, अलैँचीखेती गर्दै आएका उनले भने, यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।

थापाले घरबाटै प्रतिकिलो रु एक हजार ९५० का दरले तीन सय ८० किलो अलैँची बिक्री गरेको जानकारी दिए । उनले परीक्षणका लागि विसं २०७४ मा अलैँचीखेती सुरु गरेका थिए । यसवर्ष टीकावाङका शेरबहादुर थापाले ८० किलो र दुर्गाबहादुर थापाले १५ किलो अलैँची बिक्री गरेका छन् । एकजना किसानले न्यूनतम दुईदेखि १० किलो अलैँची बिक्री गरेका छन् ।

अर्मनको टिकावाङका साथै खोलाखर्कमा पनि अलैँचीखेती गरिएको छ । म्याग्दीको अन्य ठाउँमा अलैँचीखेती भएको छैन् । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाँले जिल्लाको अर्मनमा मात्र व्यावसायिक अलैँचीखेती भएको बताए । अर्मनमा अलैँचीखेतीको परीक्षण सफल भएपछि किसान उत्साहित भएका उनको भनाइ छ ।

यहाँबाट वार्षिक रु १५ लाख मूल्य बराबरको अलैँची बिक्री हुने गरेको कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिए। प्रशस्त अलैँची उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती हुन्छ ।

वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिने कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिए । अलैँचीखेतीका लागि शितोष्ण आद्रता भएको जलवायु चाहिन्छ । नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ, उनले भने ।

मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले टीकावाङ, खोलाखर्कलगायत अर्मनका ओसिलो क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । पालिकाले अलैँचीका बिरुवा खरिदमा अनुदान, टिप्ने, भण्डारण गर्ने औजार, उपकरणमा सहयोग, खेती सम्बन्धी प्राविधिक ज्ञानसीपसहितको तालिम र बजारीकरणमा सहजीकरण गगरिरहेको उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि