काठमाडौँ । शनिबार राति देशका विभिन्न स्थानमा सञ्चालन भएको रात्रिकालीन सडकसेवामार्फत मानवसेवा आश्रमद्वारा ६ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको छ। सबै शाखाले सडकसेवा सञ्चालन गरे पनि दाङ शाखाले २ जना र रानीवन, वीरगञ्ज, धरान तथा चितवन शाखाले १र१ गरी जम्मा ६ जनालाई उद्धार गर्न सफल भएका हुन्।
आश्रमले हरेक शनिबार राति सडकपेटी तथा सार्वजनिक स्थलमा जोखिमपूर्ण जीवन बिताइरहेका बेवारिसे तथा सहयोगापेक्षी व्यक्तिहरूको पहिचान गरी उद्धार गर्दै आएको छ। रातिको समयमा वास्तविक सहयोग आवश्यक पर्ने व्यक्तिहरू बढी भेटिने भएकाले सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको आश्रमले जनाएको छ।
रात्रिकालीन सडकसेवामा आश्रमका अभियन्तासँगै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहँदै आएको छ। आश्रमद्वारा जाडोयाम नजिकिँदै गर्दा सडकपेटीमा बस्न बाध्य व्यक्तिहरूलाई उद्धार गर्दै सुरक्षित आश्रय र सम्मानजनक जीवन प्रदान गरिँदै आएको छ।
शनिबारको सडकअवलोकन र उद्धार कार्य अन्य दिनको तुलनामा सहज हुने भएकाले अभियान नियमित रूपमा जारी राखिएको छ। यसले जनप्रतिनिधि र सुरक्षा निकायलाई जोखिमपूर्ण अवस्थाका बीच जीवनयापन गरिरहेका व्यक्तिहरूको वास्तविक अवस्था बुझ्न मद्दत पुर्याउँछ र सम्बन्धित निकायको जिम्मेवारी सुनिश्चित गर्न अवसर प्रदान गर्छ।
हरेक शनिबार सञ्चालन हुने यस्तो अभियानले सडकमा सहयोगापेक्षी व्यक्तिहरूको संख्या घट्दै गएको देखिन्छ। मानवसेवा आश्रमले २०८२ भित्र नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित सडकमानवमुक्त देश’ बनाउने लक्ष्यसहित रात्रिकालीन सडकसेवा अझ तीव्र बनाउँदै लगिरहेको छ।







