१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

अवकाशपछि अम्बाखेतीमा रमेका भट्टराई

चितवन, २८ कात्तिकः आफ्नो जीवनको महत्वपूर्ण समय कृषि विकास बैङ्कमा सेवा गरेर अवकाश पाएपछि भरतपुर महानगरपालिका–१२ का हिमप्रसाद भट्टराई अहिले अम्बाखेतीमा रमाउन थालेका छन् ।

अध्ययनका क्रममा एमएसी हटिकल्चर फुड साइन्स फलफूल विज्ञान मा गरेका भट्टराई अहिले खैरहनी नगरपालिका–५ बुडौलीमा तीन बिगाहा जग्गा भाडामा लिएर अम्बाखेती गर्दै आएका छन् ।

वरिपरि कम्पाउन्ड गरेर रासायनिक मलको प्रयोग बिना नै व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएको उनले बताए । उनले अहिले दुई प्रजातिका अम्बा लगाउँदै आएका छन । पाँच जना नियमित रोजगारीसहित उनले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएका हुन् । विगत छ वर्षदेखि अम्बाखेती गर्दै आएका उनी उत्पादित अम्बाले बजार पाउन नसक्दा निकै चिन्तित छन् ।

उनले भने, स्थानीय उत्पादन होभन्दा व्यावसायीहरुले विश्वास गर्दैनन्। नेपालमा भारत र चीनबाट अम्बा आउने गरेको बताउँदै उनले स्थानीय बारीको उत्पादनलाई समेत बजार दिन व्यवसायीलाई आग्रह गरे । अहिले स्थानीय बजारमा अम्बा बिक्री गर्दै आएको भए पनि अब काठमाडौँ र पोखरासमेत पठाउने योजनामा रहेको उनले बताए।

उनले गुनासो गरे, टिपेर बजारमा लैजाँदा यहीँको उत्पादन हो र भनेर जिस्काउने गर्दछन्, मलाई बाहिरको ल्याएर बेच्नुपर्ने जरुरी छैन । उनले थाइल्यान्ड र श्रीलङ्कन जातका अम्बा लगाएर उत्पादन गरी बजारमा लैजाने गरेका छन् । बाह्र महिना नै उत्पादन हुने हुँदा यो व्यावसायिक रुपमा खेती गरेको उनले सुनाए । अहिलेको ‘सिजन’मा मात्रै ५० टन हाराहारी अम्बा उत्पादन गर्ने लक्ष्यका साथ आफूले व्यावसायिक रुपमा खेती गरेको उनले बताए । विगत छ वर्षदेखि व्यावसायिक रुपमा अम्बाको खेती गर्दै आउनुभएका भट्टराई उत्पादन लिन थालेको तीन वर्ष भएको बताए ।

सामान्य उत्पादन बिरुवा लगाएको १८ महिनाबाट लिन सुरु गरेको भए पनि पूर्ण रुपमा उत्पादन लिन थालेको तीन वर्ष भएको उनले सुनाए । आयातित अम्बाका कारण स्थानीयले बजार नपाउँदा व्यावसायिक रुपमा गर्ने किसानको सङ्ख्या नगण्य मात्रामा रहेको उनले बताए। उहाँका अनुसार अहिले जिल्लामा सात जनाले व्यावसायिक रुपमा अम्बाखेती गर्दै आएका छन् । उनीहरुमध्ये कतिपयले प्राविधिक ज्ञान नहुँदा असार महिनामा मात्र उत्पादन लिने गरेका छन् । भट्टराईको अम्बा बगैँचामा उत्पादित अम्बा अहिले एउटा आधा किलोदेखि एक दशमलव पाँच किलो सम्मका रहेका छन् । सोही जमिनमा उनले अम्बासँगै ड्रागन फ्रुटको समेत खेती गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार व्यावसायिक रुपमा धेरै क्षेत्रफलमा खेती गर्ने भट्टराई मात्रै छन् । अन्य ५÷६ जनाले दुईदेखि १० कट्ठा क्षेत्रफलमा उत्पादन गर्ने गरेका छन् । अहिले जिल्लामा व्यावसायिक रुपमा अम्बाखेती पाँच बिगाहा क्षेत्रफलमा रहेको उनले जानकारी दिए ।

अम्बा थोरै बोटमा पनि धेरै फल्ने र जाडो मौसममा ग्राहकले चिसोको समस्या हुन्छ भनेर खरिद नगर्ने हुँदा बजार पाउन कठिन हुने गरेको उनले बताए। उनले भने, गर्मी समयमा माग धेरै हुन्छ, जाडोमा माग नहुँदा समस्या भयो । स्थानीय उत्पादनका बारेमा व्यवसायीहरुलाई ज्ञान नहुँदा समेत समस्या भएको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि