महेन्द्रनगर, २७ कात्तिकः पूर्व–पश्चिम राजमार्गलार्ई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको गड्डाचौकीदेखि स्थलगत अनुगमन सुरु भएको छ । राजमार्गलाई चार लेनको सडकका रुपमा स्तरोन्नती गर्न सडक विभाग र दातृ निकाय विश्व बैंकको संयुक्त टोलीले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन सुरु गरेको हो ।
यहाँस्थित सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले राजमार्ग विस्तारका लागि माथिल्लो निकायले स्थलगत अनुगमन सुरु गरेको जानकारी दिदैं त्यसको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने चरणमा प्रवेश गरिरहेको जानकारी दिए । पश्चिमीनाका गड्डाचौकीदेखि कैलालीको अत्तरीयासम्म ४५ किलोमिटर सडक खण्ड चार लेन बनाउने विषयको अध्ययनका लागि सडक विभागका उप महानिर्देशक अर्जुन प्रसाद अर्याल नेतृत्वको विश्व बैंकका प्रतिनिधी सहितको टोली यहाँ आएको हो । डिभिजन प्रमुख यादवले भने– अब सडक विभागले तीन महिनामा परामर्शदाता छनौट गरी काम अघि बढाउछ, यसका दातृ निकाय सकरात्मक छन् ।
उनले छिट्टै परामर्शदाता छनौट गरेर डिजाइनको काम अघि बढ्नेमा आशावादी रहेको बताए । यसअघि पनि दुर्घटना न्युनीकरणका लागि सडक डिभिजनले राजमार्गमा पर्ने चोक र स–साना बजार क्षेत्रमा स्तरोन्नतीको काम गरिरहेको थियो । यादवले भने– हालसम्म यहाँ दुई किलोमिटर जति सडक चोक क्षेत्रमा स्तरोन्नती भयो ।
त्यसैगरी सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले कपिलबस्तुको चन्द्रौटादेखि गड्डाचौकीसम्मको राजमार्गको भाग स्तरोन्नती गर्न बाँकी रहेको बताए । भविष्यको योजनाको तयारी छ । त्यसका लागि अनुगमनका क्रममा छौं । उनले भने– यो बाँकी सडक एडिबी र विश्व बैंक, दुई साझेदार संस्थाको सहयोगमा स्तरोन्नती गर्ने योजना छ । दुवैको सल्लाह र सहमती अनुसार डिजाइन तथा अध्ययन गर्छौ । उनले तत्काल विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाएर काम अढाइने जानकारी दिए ।







