महेन्द्रनगर, २६ कात्तिकः कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर होमस्टे फष्टाउँदै गएको छ । दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारु समुदायको आयआर्जनको माध्यम बनेको छ ।
यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ ।
राना थारु सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताए। निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पु¥याउथे, अध्यक्ष रानाले भने, निकुञ्जमा भ्रमण अवलोकनका लागि आउनेहरु प्रायः बासका लागि होमस्टेमै आउँछन् ।
यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने जाने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार अझै नभएको उनको छ । मुलुकका अन्य निकुञ्ज छेउछाउबाट यहाँ अवलोकनका लागि आउनेहरु बास यही बस्छन्, रानाले भने, गत वर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुनाहरु आएको तथ्याङ्क छ ।
उनले आठ वटा घरमा सञ्चालित होमस्टेमा सञ्चालकहरुले प्रतिघर वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए । निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चादँनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि दूरीका हिसाबले नजिक पर्छ ।
यहाँ हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटकहरु बासका लागि धेरै आउँछन्, अध्यक्ष रानाले भने यहाँ राना थारु परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन । यहाँ गत साउनयता दुई सय भन्दा बढी पर्यटकले बास बसेको उनको भनाइ छ । रानाका अनुसार छिटपुट रुपमा होमस्टे सञ्चालनमा दातृ निकायले सहयोग गर्दै आएका छन् ।
दश वर्षअघि होमस्टे सुरु गर्दा पनि दाताहरुबाट सहयोग मिलेको थियो, उनले भने, यहाँको थारु नृत्यहरुको माग धेरै कार्यक्रममा अन्त हुने गर्छ । सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको विगतझै अहिले पनि पर्यटक आवागमनमा कमी आएको छ । यहाँ बासका लागि आउने पर्यटकले स्थानीय उत्पादनको स्वादसमेत लिन पाउँछन् ।
भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चालमा छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटकहरुका लागि होमस्टेहरु सहज र उपयोगी भएको बताए ।
पर्यटकमैत्री प्याकेजहरु सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ”, उनले भने, यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा उद्योग वाणिज्य सङ्घ सधँै अग्रसर रहँदै आएको छ । उनले होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको बताए ।







