१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

‘सिडिओ’ पैदलै गाउँमा आएपछि

सङ्खुवासभा, २५ कात्तिक : किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न भएको छ । किमाथाङ्का भन्सार कार्यालयको नाम किमाथाङ्का भए पनि हाल खाँदबारीमा नै अवस्थित रहेको छ । कार्यालयले यस आर्थिक वर्षमा भन्सारसम्बन्धी कार्य नगरेको बताइएको छ ।

भन्सार कार्यालय भन्सार नाकामा नै व्यवस्थित गर्न जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गराइएको हो । यसले गर्दा आगामी दिनमा अन्य संरचना निर्माणको सुरुआत सहज हुनेछ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्लाका विभिन्न कार्यालयका प्रमुख सहित प्रतिनिधि सम्लग्न टोलीले किमाथाङ्का क्षेत्रको निरीक्षण गरेको थियो । किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गा नापजाँच र चारकिल्ला सुरक्षित गर्ने काम सम्पन्न गरेको प्रजिअ थपलियाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली सहितको सो टोलीले हालै किमाथाङ्कास्थित बिओपी एवं नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको थियो । असहज भूगोल र सीमित स्रोतका बीच स्थानीयवासीसँगको समन्वय र सहकार्यमा किमाथाङ्कास्थित सशस्त्र प्रहरी बल, सीमा सुरक्षा पोष्ट बिओपीले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

यसक्रममा सो टोलीले चीनतर्फका समकक्षीसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, स्थानीय बासिन्दाको सहज आवतजावत, विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदनप्रदान समन्वय र सहकार्यका विषयमा अनौपचारिक छलफल समेत गरेको थियो ।

प्रजिअ थपलियाका अनुसार स्थानीय बासिन्दा र जिल्लामा उपलब्ध तथ्याङ्कअनुसार हालसम्म किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता÷छलफल भएको छैन । सो अवसरमा उहाँले किमाथाङ्का क्षेत्रमा नेपालतर्फ चिनियाँ पक्षलाई निमन्त्रण गरेर औपचारिक वा अनौपचारिक वार्ता÷छलफल लागि पहल गरिने जानकारी दिए।

किमाथाङ्का पैदलयात्रा गर्ने पहिलो प्रजिअ थपलिया

प्रजिअ थपलियाका अनुसार किमाथाङ्का जाने क्रममा सो टोलीले स्थानीयवासीका गुनासालाई तत्काल सम्बोधन एवं जिल्लामा गर्नुपर्ने र कार्यसम्पादन सम्झौताअनुसार तोकिएका निकै महत्त्वपूर्ण काम पनि सम्पन्न गरेको थियो । उनले भने, पहिरो, स्थानीय विकासका गतिविधि र निर्माण कम्पनीको विवादको कारण लामो समयदेखि अवरोध रहेको कोशी राजमार्गको अवस्था अवलोकन गरी समस्या समाधान खोज्नु पनि भ्रमण उद्देश्य थियो । सोही अनुसार राजमार्गमा रहेका अवरोध हटाउन उत्तर–दक्षिण कोशी आयोजना, सम्बद्ध निर्माण कम्पनी र स्थानीयबीच छलफल गरी बाटो सफा गर्ने र सडक निर्माणको सुरुआत भएको उनले बताए।

टोलीले जिल्लाकै दुर्गम भोटखोला गाँउपालिकाको हटियामा स्थानीय समस्याकाका विषयमा अन्तक्र्रियासमेत गरेको थियो । उनले स्थानीय समस्यालाई संवाद र समन्वयबाट समाधान गर्न सकिन्छ । अतः यस्ता अन्तक्र्रियाहरू प्रशासनिक कार्यसम्पादनमा निकै महत्त्वपूर्ण हुने बताए । प्रजिअ थपलियाले प्रहरी चौकी निरीक्षण, शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिएका थिए ।

त्यसैगरी, भोटखोला र मकालु गाउँपालिका क्षेत्रहरू समेट्दै प्रहरी नायब उपरीक्षक मैनालीका नेतृत्वमा प्रहरीले लामो दूरीका गस्ती सञ्चालनसमेत गरेको थियो । गस्तिले लागुऔषध कारोबार, ओसार पसार लगायत विभिन्न अपराध नियन्त्रण हुने अपेक्षा लिइएको छ ।

प्रजिअ थपलियाले जिल्ला सञ्चालित जलविद्युत् आयोजनाहरू किमाथाङ्का हाइड्रो, अपर अरुण, अरुण तेस्रो र अन्य निजी तवरबाट सञ्चालित विभिन्न आयोजनाको स्थलगत अवलोकन गरी जग्गा मुआब्जा लगायत आयोजनासँग सम्बन्धित नागरिक गुनासो सुनुवाइ र सम्बोधन भएकोे जानकारी दिए। उनले भने, यसले विशेषत जग्गा मुआब्जा सम्बन्धी निर्णय गर्ने आधार तयार गरेको छ ।

पैदल आफ्नो गाउँघर हुँदै आएकी प्रमुख जिल्ला अधिकारीसमक्ष आफ्ना कुरा राख्न गाउँवासी आतुर थिए । प्रजिअ थपलियाले भने स्थानीयवासीको कुरा प्रत्यक्ष ग्रहण गर्नुपाउनु मेरा लागि ठूलो अवसर हो । यस मौकालाई गुमाउन चाहिन र बाटोमा पर्ने सबैजसो गाउँ हेदाङनागढी, लिङ्गम, छुम्सुर र किमाथाङ्कामा स्थानीयसँग अन्तक्र्रिया गरेँ । सो क्रममा स्थानीयले प्रजिअ समक्ष शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना र अन्य स्थानीय सरोकारका विषय उठान गरी आफ्ना समस्या समेटी ज्ञापन पत्र समेत बुझाएका थिए ।

मतदानस्थल अनुगमन

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रजिअ थपलियाले भ्रमणका क्रममा भोटखोला गाउँपालिकाका अधिकांश र मकालुका मतदानस्थल निरीक्षण गरे । उनका अनुसार ती मतदानस्थल मध्ये केही सामान्य र केही भौगोलिक अवस्था एवं दूरीका हिसाबले संवेदनशील छन् ।

प्रजिअ थपलियाले सम्बन्धित कार्यालयका प्रमुख र जिम्मेवार व्यक्तिहरूलाई साथमा लिई यसरी समग्र भोटखोला गाउँपालिकामा हिँडेर नै यात्रा गरी स्थानीयका गुनासा सुन्ने र समस्या बुझ्ने गरेकामा स्थानीय निकै खुसी भएका थिए ।

स्थानीयका अनुसार यसरी हिँडेर नै किमाथाङ्कासम्म यात्रा गर्ने प्रमुख जिल्ला अधिकारी थपलिया पहिलो हुन् । स्थानीयवासीले भनेका थिए, अरु त सरर.. हेलिकप्टरमा आउँथे किमाथाङ्का हेर्थे, केके गर्थे जान्थे, तपाईँ हामीले देखेदेखि पहिलो सिडिओ हो यसरी भोटखोलाको सबै भूगोल र समाज बुझ्दै आए ।

प्रजिअ थपलिया भने, प्रमुख जिल्ला अधिकारीको हैसियतले मेरो क्षेत्राधिकार सम्पूर्ण जिल्ला हो र आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न जिल्लाको सीमा, भूगोल, संस्कृति, संस्कारलगायत समग्र अवस्था बुझ्नु आवश्यक हुन्छ । त्यही बुझ्ने क्रममा चीनसँग सीमा जोडिएको क्षेत्र भएकाले किमाथाङ्का सम्म पुग्नु अनिवार्य नै थियो । पहिरोका कारण केही महिनादेखि सडक सम्बन्धविच्छेद भएको भोटखोला गाउँपालिकाको जनजीवनमा कस्तो असर पर्यो होला भनेर आफ्नै आँखाले देख्न र भोग्न मन आतुर थियो । त्यसैले मौसम खुल्नेबित्तिकै हिँडेका हाँै । अलि समय कुरेको भए पैदलयात्रा अलि कम दिनको हुनसक्थ्यो । तर यसरी जाँदा स्थानीय तवरबाट भोटखोला गाउँपालिकालाई बुझ्ने अवसर मिल्यो उनीहरूको गुनासा सुनियो, आत्मीयता र अपन्त्व बढ्यो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि