तनहुँ, १५ कात्तिक : जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई रु १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि रु १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिए ।
उनले भने, गर्भवती पोषण कार्यक्रम महिलासँग उपप्रमुख अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको हो ।
नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक ४, ६ र ८ महिना स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि उक्त रकम प्रदान गर्ने गरिएको महिला विकास निरीक्षक सुर्खालीले बताए । उनले भने, यसअघि गर्भवती महिलालाई नगद नै हातमा दिइन्थ्यो, तर अहिले चेकको फोटो कपी पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
त्यसैगरी चालु आवमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । यस आवमा क वर्गको दुई, ख वर्गको २९, ‘ग’ वर्गको १८ र ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिए । उनका अनुसार गत वर्ष १९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो ।







