भोजपुर, १४ कात्तिकः निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् ।
बर्सातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवादुङ–२ का किसान राजन ढकालले बताए। धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उनको भनाइ छ । धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ, उनले भने, बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ । यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ । ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ ।
किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताए । थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उनको भनाइ छ । हामीले वर्षभरको पसिना पोख्यौँ, उनले भने, तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो । खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ ।
लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ ।







