मुस्ताङ, १४ कात्तिकः अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिनुभयो । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ । मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी भुसालले भने , जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।
प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताउनुभयो । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।
बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पु¥याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ ।
वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए। वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए ।
अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई्ररतीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।







