८ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी, १४ कात्तिक : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन्। आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ ।

शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए । विदेशमा सोचेजस्तो सफलता मिलेन ।

विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन, उनले भने, खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।

कृषि पेसाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उहाँकी श्रीमतीले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ । कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौँमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराएका छन् ।

तरकारी बेचेर भएको आम्दानी उनले आँखाको उपचारमा खर्चिए पनि सफल भएकन छैनन् । इन्द्रप्रसादका अनुसार आँखाको समस्या नै पहिचान नहुँदा ठूला अस्पताल र नेत्ररोग विषेशज्ञहरूकहाँ पुगे पनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौतारिनु पर्दैन ।

कामदार काम खोज्दै घरमै आउँछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैँचा छ । हुर्कँदै गरेका सुन्तला बगैँचाभित्रको जमिनलाई सदुपयोग गरेर अन्तरेबालीको रूपमा बन्दा, काउली र अदुवाखेती गरेका छन् । नजिकै ३० रोपनीमा व्यावसायिक आलुखेती गरेका छन ।

गत वर्ष रु चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताए । मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भँैसी र बाख्रा पनि पालेका छन् । गाउँमै कच्ची सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन समस्या छैन । फोनमार्फत माग सङ्कलन गरेर बेनी, कुश्मा र बागलुङका व्यापारीलाई तरकारी पठाउछन् । व्यापारीले खातामै पैसा पठाउँछन् ।

शारीरिक रूपमा अशक्त भए पनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिनुभएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । आँट र साहस हुने तथा परिवारका सदस्यले साथ दिने हो भने व्यवसाय र उद्यम गर्न शारीरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुन्, उनले भने, गाउँपालिकाले उनले खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तलाखेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि