काठमाडौं । इनर व्हिल क्लब अफ बुद्धनगर (क्यान्सर सर्वाइभर्स समूह) ले स्तन क्यान्सरबाट बचेका महिलाहरूका लागि नेपालमै पहिलोपटक ‘प्याडेड ब्रा सपोर्ट कार्यक्रम’ नारायणी सामुदायिक अस्पताल भरतपुरमा सम्पन्न गरेको छ।
भन्ने नारासहित आयोजित सो कार्यक्रम स्तन क्यान्सरबाट बचेका महिलाहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो।
क्लबका पदाधिकारीका अनुसार, सर्जरीपछि शरीरमा आउने शारीरिक परिवर्तनका कारण धेरै महिलामा आत्मविश्वास घट्ने समस्या देखिने भएकाले यस्तो सहयोगले उनीहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि सहज बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा डा. भक्तमान श्रेष्ठले व्यक्तिगत तर्फबाट क्लबलाई रु १ लाख सहयोग गरे । त्यस्तै, नारायणी सामुदायिक अस्पतालले पनि रु १ लाख ५० हजार सहयोग गरेको छ।
डा. भक्तमान श्रेष्ठले २०५३ सालमा आफूले पहिलो पटक स्तन शल्यक्रिया (ब्रेस्ट अपरेशन) गरेको अनुभव सुनाउँदै भने,‘परिवार र समाजको माया र हौसला भए, रोगसँग लड्न सकिन्छ, र लामो आयु बाँच्न पनि सम्भव हुन्छ।’
२९ वर्षअघि आफ्नो पहिलो बिरामी बबि शाक्य अहिले पनि स्वस्थ र सक्रिय जीवन बाँचिरहनुभएको र अरुलाई प्रेरणा दिदै हिडेको देख्दा खुसी व्यक्त गरे ।
डा. भक्तमान श्रेष्ठले आजसम्म दुइ हजार सात सय भन्दा बढी महिलाको स्तन क्यान्सर अपरेशन गरेका छन् ।
कार्यक्रममा सहभागी एक क्यान्सर सर्भाइभरले पनि रु २१ हजार सहयोग गर्दै सकारात्मक सोचले जीवनमा नयाँ उत्साह ल्याउने सन्देश दिए ।
संस्थापक अध्यक्ष तारा अमात्यले क्यान्सरपछि अपनाउनुपर्ने जीवनशैली र व्यवहारबारे सचेतना फैलाउने अभियानलाई निरन्तरता दिइरहेको बताइन् ।
क्लवकी सचिव बबि शाक्य स्तन क्यान्सरसँगको लामो संघर्षपछि निको हुन सफल भएकी उदाहरणीय सर्वाइभर हुन् ।
सचिव शाक्यका अनुसार, आर्टिफिसियल ब्रेस्ट वा प्याडेड ब्रा आवश्यक स्थानमा उपलब्ध गराउनु क्लबको प्रमुख उद्देश्य हो।
आयोजकका अनुसार, यस कार्यक्रमले स्तन क्यान्सरबाट बचेका महिलामा आत्मविश्वास र आत्मसम्मान बढाउँदै, समाजमा क्यान्सरप्रतिको डर र गलत धारणा तोड्ने उद्देश्यसहित “क्यान्सर अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो” भन्ने सकारात्मक सन्देश दिएको छ।
कार्यक्रममा १८ जना ब्रेस्ट क्यान्सर सर्वाइभर सहभागी भएका थिए। तीमध्ये अधिकांशको अपरेशन डा. भक्तमान श्रेष्ठले गरेका थिए ।







