लुम्बिनी, ११ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको उक्त भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराए । उहाँले सङ्घीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए । मुख्यमन्त्री आचार्यले नेपाल–बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष तथा अप्रत्यक्ष जटिलता देखापरेको र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताए । उनले प्रदेश सरकारले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिए । सङ्घीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवद्र्धनका क्षेत्रमा आपसी सहकार्यको आशा गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिँदै चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराए। त्यसभित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रममा कटौती नगर्ने नीति लिइएको स्पष्ट पारे। उनले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे ।
भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि लङले नेपाल र बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा दुबै सरकार मिलेर सुशासन, विकास र सङ्घीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने विश्वास दिलाए ।







