१६ मंसिर २०८२, मंगलवार
कोशी पर्यटन मुख्‍य समाचार समाचार

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ ।

नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए ।

“नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ”, उनले भने, “अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ ।” दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमा पार गर्न सकिने भएको छ ।

कोप्चे–बराह क्षेत्रबीचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पुर्याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए ।

“चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ”, उनले भने, “भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपथ्र्यो । अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ ।”

गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि