रातो कागज

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले एक प्रेस वक्तव्य जारी गर्दै भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा भएको हिंसा र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
प्रेस वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उनले व्यक्त गरेका छन्।
वक्तव्यमा भनिएको छ कि ‘आन्दोलनलाई बदनाम गर्न र व्यक्तिगत स्वार्थ पूरा गर्न केही समूहहरूले देउवा निवाससहित विभिन्न स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।’
भदौ २४ गते देउवाको निवासमा डकैती शैलीमा जबर्जस्ती प्रवेश गरी सभापति देउवा, उनकी धर्मपत्नी डा. आरजु राणा देउवा लगायत परिवारमाथि सांघातिक आक्रमण गरिएको उल्लेख गरिएको छ ।
साथै, घटनापछि सामाजिक सञ्जालमार्फत ‘देउवा निवासमा अत्यधिक नगद भेटिएको’, ‘जलेका नोट फेला परेको’, ‘पैसाको सुरूङ्ग रहेको’ जस्ता कपोकल्पित र भ्रामक सूचनाहरू प्रचार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।
सचिवालयले यस्ता सूचनाहरू भ्रामक, अतिरञ्जित र बदनाम गर्ने नियतसहित प्रवाह गरिएको दाबी गर्दै तीमध्ये कुनै पनि कुरामा सत्यता नरहेको स्पष्ट पारेको छ ।
वक्तव्यमा दुईवटा मुख्य बुँदामा यी अफवाहहरूको खण्डन गरिएको छः
१. घरभित्र रहेको ‘अण्डरग्राउण्ड ट्याङ्की’लाई लिएर विभिन्न अफवाह फैलिएको तर त्यो सामान्य पानी ट्याङ्की भएको स्पष्टिकरण ।
२. विभिन्न समयमा र स्थानमा जलेका नोटका पुराना दृश्यहरूलाई जोडेर फोटो तथा भिडियो सम्पादन गरी युट्युब र सामाजिक सञ्जालमा प्रसारित गरिएको भन्ने आरोप ।
प्रेस वक्तव्यमार्फत नेपाली कांग्रेसले आम नेपाली जनसमुदाय, पार्टी कार्यकर्ता, नेता, सदस्य तथा सरोकारवालाहरूलाई यस्ता अफवाह र भ्रामक सूचनामा विश्वास नगर्न अनुरोधसमेत गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया