News and Updates

स्याङ्जा । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको छ । मृतकप्रति श्रदाञ्जली दिँदै देशका विभिन्न ठाउँमा दीप प्रज्वलनसमेत गरिएको छ ।
स्याङ्जाको बाडखोलामा शिशु निकेतन माविको अगुवाईमा भेला भएर विद्यालय परिवार तथा जेनजीहरूले शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । उनीहरूले शहीदका परिवाजनप्रति समवेदना समेत व्यक्त गरे ।
आन्दोलनमा बलिदानी दिएका शहीदको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । राष्ट्रिय झन्डासहित भेला भएका शिशु निकेतनका शिक्षक तथा विद्यार्थीहरूले अब देशमा सुशासन कायम हुनुपर्ने र भ्रष्टाचारीलाई कारवाही गरिनुपर्नेमा समेत जोड दिएका छन् ।
सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेनजी पुस्तामाथि सरकारले निर्मम दमन गरेको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो ।
सरकारी दमनको आक्रोशपछि प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । २३ सयभन्दा धेरै घाइते छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया