Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो

रातो कागज
2 घण्टा अघि

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् ।
विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए ।
उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि बताए । उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे ।
‘प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा यस घरबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा छ । यो घर सबै जनताका लागि राजनीति मन्दिर जस्तो हो भनेर भन्ने गरेका छन् । हुनपनि सबैतिर प्रयास गर्दा पनि अन्तिम सहाराका लागि आउने घर यही हो । अहिले आन्दोलनका क्रममा जेनजीले पनि इतिहास मेटाउनुपर्छ भनेर लागेको होइनन् तर घुसपैठ भयो । कांग्रेसले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकताको आधारमा अरु दलहरुलाई पनि समावेश गरेर खेलेको भूमिकालाई लिएर जलाइएको हो । कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण नै यही हो’ उनले भने ।
त्यस्तै उनले नेपाली कांगे्रस विधिको शासनलाई लिएर लडेको पार्टी भएकाले आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र दोषिलाई कारवाही हुनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया