रातो कागज

४ पुस, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले फास्ट ट्रयाक निर्माणका लागि त्यही अनुसारको कानुनी व्यवस्था हुनुपर्ने बताए ।
‘फास्ट ट्रयाक बनाउनुपर्थ्यो भने फास्ट ट्रयाकमा नियम पनि दिनुपर्थ्यो, ४ वटा रुख काट्न ९ महिना लगाइदिएको छ, कसको गल्ती, म कसैको गल्ती भन्दिन, यो हजुरहरुले बनाएको नियम हो’, शर्माले सांसदहरुलाई भने ।
आफूले गएको वैशाखमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई काट्नुपर्ने भनेर देखाएको रुख अहिलेसम्म काट्न नसकेको शर्माले बताए । ‘खै त फास्ट ट्रयाकमा नियम दिन सक्नुभएको ? काम चाहिँ फास्ट ट्र्याकमा गर्नुस् भन्ने नियम कानुन चाहिँ २०१७ सालदेखिको देखाउनुहुन्छ । यही तालले हो भने २०८३ सालसम्म पनि बन्दैन’ प्रधान सेनापति शर्माले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया