Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

रातो कागज
4 घण्टा अघि

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा ठूलो क्षति भएको छ ।

ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपासलगायतका कागजात जलेर नष्ट भएको र त्यसले व्यवसायी थप समस्यामा परेको बताउँदै कागजात नष्ट भएर पीडित बनेका व्यवसायीलाई तुरुन्तै वैकल्पिक व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।

यता, प्रदर्शनकै क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेको विभागले जनाएको छ ।

यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट गरेको छ ।

व्यवसायीलाई अनावश्यक दुःखकष्ट नदिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहजीकरण गर्न महासंघले जोड दिएको छ ।

दसैँ नजिकिँदै गर्दा मालवाहक ट्रक सञ्चालनमा कुनै अवरोध नहोस् भनेर आवश्यक कदम चाल्न मन्त्रालयलाई आग्रह गरिएको महासंघका महासचिव बानियाँले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया