रातो कागज

काठमाडौं । राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिती रहेको थियो ।
सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ। तर, भदौ २३ र २४ गते भएको जेनजि पुस्ताको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यस वर्ष बाल दिवसका अन्य कार्यक्रमहरू हुन सकेनन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भने, ‘बालबालिका र विद्यालयहरू शान्तिक्षेत्र हुन्। बालबालिका हाम्रो राष्ट्रिय गौरव हुन्। उनीहरूको संरक्षण र सम्बद्र्धन गर्नु सरकार, घरपरिवार र समुदाय सबैको साझा दायित्व हो। भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको छ। फेक सूचनाका कारण उनीहरूमा त्रास फैलिएको छ। अब विद्यालयमा शान्ति शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै बालअधिकारकर्मी कुमार भट्टराई, प्रलाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेको स्मरण गराउँदै, ‘जेनजी आन्दोलनसहित परिवर्तनका आन्दोलनहरूमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति हामी सम्मान व्यक्त गर्छौं।’ पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूलाई निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चारजना १८ वर्षमुनिका बालबालिकाले ज्यान गुमाएका छन् ।
साथै फेक समाचार र डरत्रासका कारण धेरै बालबालिका त्रसित बनेको सरोकारवालाहरूले बताउनुभयो। यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता समेत औंल्याइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया