रातो कागज

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अहिले खरानी र भग्नावशेषले भरिएको छ । भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी गृह मन्त्रालयलगायतका कार्यालयमा आगजनी गरेपछि परिस्थिति पूर्णरूपमा बदलिएको छ ।
आइतबार गरिएको स्थलगत रिर्पोटिङमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेका छन् ।
भित्रको दृश्य ः खरानी, चिसिएको धुवाँ र मौनता
नेपाल न्यूज बैंकको टोली बिहानै सिंहदरबार प्रवेश गर्दा सबैभन्दा पहिले देखिएको दृश्य थियो—धुवाँले कालो परेको पर्खाल, भत्किएको छत, जलेका फाइल र कुर्सीहरूको अवशेष । कुनैबेला कागजात र निर्णयहरूले भरिने फाइल मन्त्रिपरिषदको कार्यालय अब रित्तो छन्, कुनै जलिसकेका, कतै अलपत्र अवस्थामा ।
गृह मन्त्रालयको मूल प्रवेशद्वार पूर्णरूपमा भत्किएको छ । भित्र छिर्दा प्रांङ्गणभरि जलेका कम्प्युटरका भागहरू, जलिसकेका कुर्सी, र फाइलहरू देखिन्थे ।
सबै संरचना ध्वस्त छन्, पुनःस्थापना लामो प्रक्रिया हो
स्थलगत रिर्पोटिङकै क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै गृह मन्त्रालयका उपसचिव शेखर पौडेलले घटनाले मन्त्रालयको कामकाजलाई गम्भीर असर पारेको जानकारी दिए । उनका अनुसार हाल गृहमन्त्रालय सञ्चालनयोग्य अवस्थामा छैन र पूर्ण पुनःस्थापनाका लागि लामो समय लाग्ने देखिएको छ ।
उपसचिव पौडेलले भने, ‘गृह मन्त्रालय चल्ने भन्दा पनि पहिलो कुरा त सम्पूर्ण संरचनाहरु आगजनी र तोडफोडबाट ध्वस्त भएको अवस्था छ ।’ उनका अनुसार मन्त्रालयमा रहेका फाइल, अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटपलगायतका सबै भौतिक सम्पत्ति नष्ट भएका छन् ।
‘कतिपय अभिलेखहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् भने कयौं हराएका छन्,’ उनले थपे, ‘यस्तो अवस्थामा मन्त्रालयले कार्यसम्पादन अघि बढाउनु निकै चुनौतीपूर्ण छ । तर पनि यो शोक र विपत्तिको घडीमा एकीकृत प्रयासमार्फत पुनःनिर्माण र सेवा पुनःसञ्चालनको दिशा तय गर्न हामी प्रतिबद्ध छौं ।’
हाल गृहमन्त्रालयका अधिकारी र कर्मचारीहरु नयाँ कार्यस्थलको खोजीमा रहेका छन् । सिंहदरबारभित्रै अस्थायी स्थानमा मन्त्रालय सञ्चालन गर्न पहल भइरहेको पौडेलले जानकारी दिए । उनले भने, ‘हामी तत्काल उपयुक्त स्थान खोजेर सेवा सुरु गर्ने प्रयासमा छौं । तर साविकको अवस्थामा फर्कन भने नीति निर्माणदेखि योजना निर्माणसम्मका विस्तृत काम आवश्यक हुन्छ ।’
हाल नागरिक सेवामध्ये धेरैजसो सेवा स्थानीय तह र जिल्ला कार्यालयहरूमार्फत प्रदान हुँदै आएका कारण प्रत्यक्ष प्रभाव न्यून हुने उपसचिव पौडेलको भनाइ छ । यद्यपि, दीर्घकालीन महत्वका नीति, कानुन र अभिलेखमा भएको क्षति गम्भीर रहेको उनको भनाइ छ ।
‘अब हामीले डिजिटल अभिलेखहरु पुनरावलोकन गर्ने, जलेका अभिलेखहरुको पुनर्निर्माण गर्ने र नयाँ संरचना बनाउने कार्यलाई प्राथमिकतामा राख्नेछौं,’ पौडेलले भने ।
सरकारको पुनःनिर्माणसँग सम्बन्धित नीति र योजनाअनुसार मात्र स्थायी समाधान सम्भव हुने भएकाले गृहमन्त्रालयको पूर्ण पुनःस्थापना दीर्घकालीन प्रक्रिया हुने देखिएको छ ।
उनका अनुसार मन्त्रालयको भौतिक संरचना मात्र नभई—महत्त्वपूर्ण अभिलेख, सवारीसाधन, कम्प्युटर, ल्यापटप सबै जलेर नष्ट भएका छन् । कतिपय अभिलेखहरू हराएका छन् भने कति पूर्णरूपमा जलिसकेका छन् ।
‘हामी तत्कालका लागि बाँकी अभिलेखहरू एकत्रित गर्दैछौं । कर्मचारीको सुरक्षित बसोबास मिलाउने र सेवा क्रमिक रूपमा पुनः सञ्चालन गर्ने प्रयासमा छौं,’ पौडेलले भने ।
स्वास्थ्य मन्त्रालयमा पनि शतप्रतिशत क्षति
गृह मन्त्रालयसँगै सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि शतप्रतिशत क्षति भएको पुष्टि गरिएको छ । कार्यालयका संरचना पूर्णरूपमा जलेका छन् ।
कुन मन्त्रालय कत्तिको प्रभावित ?
घटनामा सबै मन्त्रालय समानरूपमा प्रभावित छैनन् । सञ्चार तथा सूचना प्रविधि, कानुन, भौतिक पूर्वाधार, खानेपानी, परराष्ट्र, अर्थ, सहरी विकास, खेलकुद जस्ता मन्त्रालयहरूमा खासै क्षति देखिएन । सामान्य प्रशासन, कृषि, शिक्षा मन्त्रालयहरूमा आंशिक क्षति भएको छ ।
सिंहदरबारको यो दृश्य केवल भौतिक क्षतिको प्रतीक होइन, यो नेपालको सरकारी प्रशासनिक संयन्त्रको संकटको प्रत्यक्ष चित्र हो । आगजनीको पीडाबाट गुज्रिरहेका कर्मचारीहरू पुनः निर्माणको बाटोमा उभिएका छन् । जहाँ समय, नीतिगत निर्णय र दृढ संकल्पले मात्र अगाडि बढ्न सकिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया