Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

जेनजी प्रदर्शनमा चार जना सञ्चारकर्मी घाइते

रातो कागज
11 घण्टा अघि

काठमाडौँ, २४ भदौः जेनजी पुस्ताको सोमबारको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ । साथै एउटा सञ्चारगृहको भवनमा ढुङ्गामुढा भएको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिअनुसार कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुङ्गाना, स्वतन्त्र पत्रकार शम्भु दङ्गाल र नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन् ।

यस्तै थाहा खबर डट कमको कार्यालयमा तोडफोड भएको छ । उक्त घटनाप्रति महासङ्घले निन्दा र भत्र्सना गरेको छ । घाइते पत्रकारहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महासङ्घले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन यसअघि नै सरकारसमक्ष माग राखेकोसमेत जनाएको छ । महासङ्घले आन्दोलनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

विज्ञप्तिमा मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दोषीलाई कारबाहीको माग गरेको छ । महासङ्घले पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र सबैको निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न र सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ । यस्तै पत्रकार सम्बद्ध विभिन्न सङ्गठनले पनि सञ्चारकर्मीलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया