रातो कागज

चितवन, १७ भदौः पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् ।
गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउछन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मत सम्भारमा नै व्यस्त छन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरे आफूजस्तै अन्य व्यवसायी सरसफाइमा जुटेका बताउछन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट छन् । ती सबै पर्यटकको प्रतीक्षामा छन् । यो वर्ष पर्यटक आगमन गत वर्षको भन्दा अधिक हुने अपेक्षासहित आफूहरू तयारीमा जुटेको उनले बताए । सौराहामा एक सय २० भन्दा बढी होटल छन् । ती होटलमा आठ हजार हाराहारी कोठा छन् ।
क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डे हाल सौराहामा नगन्य पर्यटक छन् । आगामी महिना पर्यटक बढ्नेमा उनी विश्वस्तछन् । जङ्गल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा भएकाले स्वदेशी र विदेशी पर्यटकको आगमनको प्रतीक्षामा रहेका व्यवसायी धामाधम भौतिक पूर्वाधार पनि निर्माण गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया