Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सामुदायिक वनक्षेत्रमा पर्यापर्यटनको गविविधि बढ्दै

रातो कागज
11 घण्टा अघि

झापा, १७ भदौ : कोशी प्रदेशका नौवटा जिल्लाका ५४ सामुदायिक वनले आयआर्जन गर्ने उद्देश्यले पर्यापर्यटनको गतिविधि सञ्चालन गरिरहेका छन् । जसमध्ये आधाभन्दा बढी सिमसार क्षेत्र छन् ।

पर्यटक आकर्षित गर्ने यी सामुदायिक वनमध्ये २३ वटा झापामा छन् भने नौवटा सुनसरी र सातवटा मोरङमा छन् । उदयपुरमा पाँच, धनकुटामा तीन, तेह्रथुममा तीन, इलाममा दुई, ताप्लेजुङमा एक र सङ्खुवा सभाको एक सामुदायिक वन पर्यापर्यटनमा सक्रिय रहेको कोशी प्रदेशको वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए।

वन पैदावारको संरक्षण, उत्पादन र बिक्री वितरण गर्ने परम्परागत क्रियाकलापबाट अघि बढेर सामुदायिक वनहरू पर्यापर्याटनको क्षेत्रमा अग्रसर भइरहेका छन् । पर्यापर्यटनमा लागेका अधिकांश सामुदायिक वनले आफ्नो वन क्षेत्रमा रहेको प्राकृतिक सिमसार र पोखरीलाई पर्यटक आकर्षण गर्ने माध्यम बनाएका छन् ।

प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत पोखरेलका अनुसार ५४ मध्ये ३३ वटा सामुदायिक वनले सिमसारलाई पर्यटकीय क्षेत्र बनाएका छन् । अधिकांश सामुदायिक वनले वनभोज, नौका विहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, वन उद्यान र सेल्फी खिच्ने ठाउँका रूपमा आफ्नो क्षेत्रलाई पूर्वाधार सहित आकर्षक बनाएका छन् ।

तीन वटा सामुदायिक वनमा मिनी चिडियाखाना र अरु दुई वटामा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा छन् । पर्यटकहरू चिडियाखानामा राखिने जीवजन्तु र पन्छी हेर्न झुम्मिने गरेका छन् । कचनकबलको दुर्गाभिट्टा सामुदायिक वन र कनकाईको जामुनबारी सामुदायिक वनमा वन्यजन्तु उद्धार केन्द्र रहेको छ । सर्वसाधारण तथा डिभिजन वन कार्यालयले अन्यत्रबाट उद्धार गरेका जङ्गली पन्छी र जनावरहरु संरक्षणका लागि यिनै उद्धार केन्द्रमा पठाउने गरेको कचनकबलस्थित दुर्गाभिट्टा सामुदायिक वनका अध्यक्ष धनराज गुरुङले बताए।

कोशी प्रदेशका तीनवटा मिनी चिडियाखानामध्ये दुईवटा मोरङ र एउटा सुनसरीमा छ । बेलबारीको बेतना सिमसार सामुदायिक वन, पथरी शनिश्चरेको मनकामना सामुदायिक वन र धरानको हरियाली सामुदायिक वनमा वनभोज र नौका बिहार सँगै मिनी चिडियाखाना छ ।

कोशी प्रदेशमा तीन हजार ७२१ वटा सामुदायिक वन रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया