Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागमती प्रदेशसभा बैठकः लिपुलेकको सम्बन्धमा कूटनीतिक प्रयास जारी राख्न सुझाव

रातो कागज
11 घण्टा अघि

मकवानपुर, १७ भदौः बागमती प्रदेशसभाको बैठकको शून्य समयमा प्रदेशसभाका १० सदस्यले मुलुकको सार्वभौमिकता र राष्ट्रियताप्रति छिमेकी राष्ट्रले व्यापारीक मार्ग खुलाउन गरेको लिपुलेक सम्झौता खारेज गर्न प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर कूटनीतिक प्रयास जारी राख्न सुझाव दिएका छन् ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले नेपालको भूभाग लिपुलेक, कालापानी, गुन्जी लगायतका क्षेत्रमा भारतीय पक्षबाट भएको हस्तक्षेपले सार्वभौमिकता माथि सङ्कट पुर्याउने भएकाले प्रदेश सरकारले भारत र चीनबीच भएको सम्झौता खारेज गराउन सङ्घीय सरकारलाई सहयोग पुर्याउन प्रदेशसभामा सङ्कल्प प्रस्ताव पारित गरी सङ्घीय सरकारलाई जानकारी उपलब्ध गराउन माग गरेका हुन् ।

त्यसैगरी, बैठकमा हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–भैँसे सडकको बाघझोरामा वर्षात्का समयमा बाढीपहिराले घण्टौँ यात्रीहरूले पर्खिनुपर्ने कारणबाट गर्भवती र अन्य बिरामीलाई तत्काल अस्पताल पुर्याउन निकै कठिनाइ भोग्नुपर्ने बाध्यता आएकाले प्रदेश सरकारले अब सो स्थानमा दीर्घकालीन रूपमा यातायात सञ्चालनका लागि पक्की पुल निर्माण गर्न आग्रह गरे ।

उनीहरूले अहिले कृषि उत्पादनका लागि मलखाद अतिआवश्यक भएकाले प्रदेशका १३ जिल्लाका किसानलाई धानखेतीका लागि आवश्यक मल उपलब्ध गराउने क्रममा प्रदेश सरकारले सङ्घीय सरकार सँग समन्वय गरेर हेटौँडामा मलको मौज्दात राख्न सल्लाह दिए ।

सोही बैठकमा काठमाडौँ उपत्यलगायत अन्य जिल्लामा स्वस्थ पिउने पानीको अभाव हुँदा प्रदेश सरकारले प्रभावित क्षेत्रमा अनुगमन टोली पठाई त्यहाँको वस्तुस्थिति जानकारी लिएपछि योजना र बजेट बाँडफाँट गरी सर्वसाधारणलाई पिउनेपानी उपलब्ध गराउने र जिल्लाका सबै अस्पताललाई दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गरे ।

सो बैठकमा सबै नेपालीलाई सवारीसाधन सञ्चालनका क्रममा सङ्घीय सरकारले चालक अनुमतिपत्र वितरण गर्न नसकेको अवस्थामा उक्त सवारी साधनलाई अहिले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउँदा आपत्तिजनक रहेको र अब देवनागरी लिपिमा उक्त प्लेट सञ्चालनमा ल्याउन माग गरे ।

सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्यव्यवस्था परामर्श समिति र विषयगत समितिमा सदस्य मनोनयन तथा हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेश मामिला समितिमा बहादुरसिंह लामा तामाङ, सुरजचन्द्र लामिछाने, कुञ्जनराज काफ्ले र मदुकुमार श्रेष्ठ सदस्यमा मनोनित हुनुभएको छ । सार्वजनिक लेखा समितिमा मीनकृष्ण महर्जन र श्याम बहादुर खड्कालाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसैगरी, शिक्षा स्वास्थ्य समितिमा हरिप्रभा खड्गी श्रेष्ठ, उद्योग, पर्यटन तथा वातावरण समितिमा विमल ठकुरीलाई सदस्यमा मनोनित भए । प्रदेश सभाको बैठकले उक्त समिति सदस्यहरूको नामलाई स्वीकृत प्रदान गरिएको छ । प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया