रातो कागज

दार्चुला, १७ भदौः चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिङ्करमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ । गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्याएपछि टेलिफोन सेवा बन्द भएको हो । फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिङ्करीले बताए । गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको बर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए ।
व्यास गाउँपालिका–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा बसाइँ सरेका थिए । व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ । यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।
नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए । सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ । समस्या समाधानको प्रयास भइरहेको छ, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया