Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तिआन्जिन बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

रातो कागज
10 घण्टा अघि

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवित बहुपक्षीयता” आवश्यक रहेको बताए । उनले नेपाललाई एससीओ को पूर्ण सदस्यका रूपमा प्रवेश गराउन पुनः प्रतिबद्धता व्यक्त गरे ।

सोमबार तिआन्जिनमा आयोजित बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनमा विश्वले उल्लेखनीय प्रगति गरे पनि असमानता, जलवायु आपतकालीन अवस्था र सिमाना द्वन्द्वका कारण मानव सभ्यता चुनौतीमा परेको बताए ।

“यस्तो परिस्थितिमा कुनै पनि देश एक्लै सुरक्षित हुन सक्दैन, कुनै पनि जनता विखण्डनमा समृद्धि हासिल गर्न सक्दैनन् । त्यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,” प्रधानमन्त्री ओलीले भने । उनले नियम–आधारित अन्तर्राष्ट्रिय प्रणाली चुनौतीमा परेको र बहुपक्षीयताले अपेक्षित नतिजा दिन नसकेको प्रष्ट पारे ।

चीनद्वारा प्रस्तुत विश्व सुशासन पहलको स्वागत गर्दै उनले यसले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखी अझ न्यायपूर्ण, समावेशी र समान प्रणाली निर्माण गर्न सहयोग गर्ने बताए । साथै, एससीओलाई “अझ एकताबद्ध, अझ समन्वित र अझ लचिलो” बनाई भूराजनीतिक, आर्थिक र वातावरणीय झट्काहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

 

नेपाल २०१६ देखि एससीओको संवाद साझेदार रहेको स्मरण गर्दै उनले नेपाल पूर्ण सदस्य बन्न तयार रहेको बताए ।

क्षेत्रीय सुरक्षाबारे बोल्दै प्रधानमन्त्री ओलीले आतंकवाद, साइबर आक्रमण, महामारी र जलवायु परिवर्तनलाई सिमाना नमान्ने खतराका रूपमा औंल्याए । हिमाललाई विश्वको जलवायु सन्तुलकका रूपमा चिनाउँदै उनले हिमालको बरफ संचित भण्डार हराउँदै जाँदा तल्लो भूभागमा रहेका अर्बौं मानिसको जीवन संकटमा पर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले आपसी सहकार्यलाई मजबुत बनाउन, मतभेदभन्दा आपसी समझादारी तर्फ र प्रतिस्पर्धाबाट सहकार्यको रुपान्तरणमा सबै मुलुक लाग्नु पर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया