News and Updates

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।
उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन्। न्यौपाने पनि सोही समितिकी सदस्य हुन् ।
आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराएका हुन् ।
सभापतिमा उनको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला समेत जनाएका थिए।
समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनी निर्विरोध भएको घोषणा गरिने छ ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य छिन् । यसअघि उनी दुवै संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसकेकी छन् । पार्टीमा महिला विभाग प्रमुख भइ जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।
संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहेकी नेतृ न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिएकी थिइन्।
पार्टीको आजै बसेको पदाधिकारी बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो पदका लागि बुधबार निर्वाचन हुँदैछ । कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।
उम्मेद्वारी दिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ न्यौपानेले संवेदनशील र महत्वपूर्ण विधेयकबारे निर्णय गर्न पर्ने राज्य व्यवस्था तथा सुृशासन समिति सभापतिको प्राप्त जिम्मेवारी पुरा गर्न सबैलाई साथ र सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, “जहाँ बसेर काम गर्न चुनौती हुन्छ, त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ । वातावरण बनाएर जिम्मेवारी पुरा गर्नुपर्छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया