Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीज मेलाको लहर

रातो कागज
9 घण्टा अघि

गण्डकी, ८ भदौ : तीज पर्व पारेर मेला–महोत्सव आयोजनाको लहर नै चलेको छ । संस्कृति जगेर्नादेखि स्थानीय अर्थतन्त्रमा समेत यस्ता गतिविधिले टेवा पुर्‍याइरहेका छन् । यतिबेला पर्यटकीय राजधानी पोखरासहित आसपासका गाउँसहर तीजमय बनेका छन् । कतै तीज गीत तथा नृत्य प्रतियोगिता त कतै दर खाने कार्यक्रमले तीजको रौनक बढाएका छन् ।

पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडीखेलामा तेस्रो संस्करणको तीज महोत्सव जारी छ । यही भदौ १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैङ्क तथा वित्तीय संस्था लगायत गरी एक सय ५० व्यापारिक कक्ष रहेको आयोजनक इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा खुला मौलिक तीज गीत, एकल नृत्य, ढिँकीजातो चलाउने, छेलो हान्ने आदि प्रतियोगिता राखिएको छ ।

पोखराकै लामाचौरमा आइतबारदेखि २७औँ लामाचौर तीज महोत्सव सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजद्वारा आयोजित उक्त महोत्सव तीज गीत तथा नृत्य, भलिबल लगायत प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छ । महोत्सव तीन दिनसम्म चल्नेछ । गत बिहीबार गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वय र पब्लिक फोरके टेलिभिजनको आयोजनामा ‘कृषि तीज गीत प्रतियोगिता’ आयोजना गरिएको थियो ।

कृषि पेसाको सम्मानसहित किसानलाई व्यावसायिक कृषिमा प्रेरित गर्ने उद्देश्यले कृषि तीज गीत प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पाण्डेले बताए । किसानले भोग्दै आएका समस्या, गुनासा, सफलताका कथा आदि विषय वस्तुलाई तीज गीतमार्फत उठाउने गरिएको उनको भनाइ छ । यसले महिलाका मुद्दामा मात्र तीज गीत सीमित छैन भन्ने देखाउँछ ।

तीजका नाममा भड्किला गीत गाउने प्रवृत्ति पनि देखिइरहेका बेला पोखरामा भने केही वर्षयता तीज गीतलाई कृषिसँग जोडेर प्रतियोगिता आयोजना हुँदै आएको हा् । तीज पर्वको अवसर पारेर पोखराकै सिटीवान टेलिभिजन लगायत अन्य सङ्घसंस्थाले पनि विभिन्न मेला र उत्सवको आयोजना गरेका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा पनि बर्सेनि तीज मेला लाग्छ । स्वतःस्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ ।

यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला सञ्चालन हुँदैछ । सोमबार सामूहिक दर खुलाउने कार्यक्रम रहेको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिए । तीज पर्वका दिन तीज गीत तथा नृत्य प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । मेलाका अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दन गर्ने गरिएको अध्यक्ष मरासिनीले बताए । सोही ठाउँमा अवस्थित झण्डै तीन सय वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको छ ।

तीजमा महादेवको ब्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । दशकौँ अघिदेखि नाच्नेडाँडामा तीज मेला लाग्ने गरेको स्थानीयवासी बताउँछन् । अहिलेको पुस्ताले पनि तीज मेलालाई निरन्तरता दिँदै आएका छन् । विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगिताका रूपमा सञ्चालन गर्न थालिएको हो ।

नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेको समाजका अध्यक्ष मरासिनीले बताए । परापूर्वकाल देखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम सञ्चालन हुँदै आएको हो, पछिल्लो समय मेलाको रूपमा निरन्तरता दिएका छौँ, अध्यक्ष मरासिनीले भने ।

बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोड लगायतका कार्यक्रम आयोजना गर्ने गरिएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया