रातो कागज

ललितपुर, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउन समेत बन्द गरिएको छ ।
काठमाडौँ उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ । स्थानीयका अनुसार भूकम्पले क्षति पुर्याएपछि यो पूर्वतिर ढल्किएको अवस्थामा छ । जीर्ण अवस्थामा अडिएको यो घण्ट जुनसुकै बेला ढल्न सक्ने स्थिति छ । ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाएको पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान बताउछन्।
उनी भन्छन्, हामीले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ । अझै कुनै पहल भएको छैन ।
मल्लकालीन समयमा स्थापना गरिएको उक्त घण्ट १७६९ सालमा निर्माण गरिएको मानिन्छ । विसं २०७२ को भूकम्पका समयमा यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउछन्। विशेषतः हरेक वर्षको दसैँको जमरा राख्ने दिनदेखि दसैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ । उनका अनुसार राणाकालीन समयमा पाटन सहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२ः०० बजे यो घण्ट बजाइन्थ्यो । घण्ट बजेपछि राति १२ः०० बजेपछि कोही पनि बाहिर निस्कन हुन्नथ्यो । अनि बिहान ४ः०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आआफ्नो काममा लाग्थे ।
घण्टको जगसँगै सटाएर व्यवसाय सञ्चालन गरेका एक स्थानीय व्यवसायीका अनुसार उनका हजुरबुबा १९५८ सालदेखि सो स्थानमा पसल सञ्चालन गर्दै आएका थिए । उनी भन्छन्, “एक शताब्दी अघिदेखि व्यवसाय सञ्चालन गर्दै आएका छौँ । यो घण्ट भूकम्पका कारण जीर्ण अवस्थामा पुगेको छ । पाटन दरबारका सबै जीर्ण सम्पदा महानगर र पुरातत्व विभागले पुनर्निर्माण गरिसकेको छ ।
ऐतिहासिक घण्टको जगमा सटाएर कोठा निकालेर स्थानीयले पुस्तौँ देखि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । ती पसल नहटाइए सम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन । यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकारका अनुसार पाटन दरबार क्षेत्रमा केही स्थानीयले पुस्तौँदेखि व्यापार सञ्चालन गर्दै आएका छन् । उनी भन्छन, व्यापारीले पुस्तौँदेखि व्यापार गर्दै आएको कारण सम्झौता अनुसार हामीलाई व्यापार गर्न पाउनुपर्छ भन्छन् । व्यापारिक प्रयोजनका लागि बनाइएका भवन नहटाइए सम्म ऐतिहासिक घण्ट पुन र्निर्माण गर्न सम्भव छैन ।
पुस्तौँदेखि दरबार क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई प्रमाणसहित आउन गुठी संस्थान कार्यालयले पत्रचार गरेको समेत उनी बताउछन् । कार्यालय प्रमुख चित्रकार भन्छन्, “उनीहरू प्रमाणसहित आएर भने समस्याको समाधान गछौैँ, किनकि सम्पदा हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।
घण्टलाई अहिले नै पुनर्निर्माण नगरिएमा यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भएमा फेरि ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था छ । घण्ट बजाउँदा त्यसको कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि यो घण्ट बजाइएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया