रातो कागज

रौतहट । नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सभपाति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।
तत्कालिन मनुस्मारा सिँचाई आयोजनाको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक अनियमितता मुद्दामा विशेष अदालतले केही समयअघि दोषी ठहर गरेको थियो ।
सर्वोच्च अदालतले समेत विशेषको फैसला सदर गर्दै उनलाई चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपियाँ बिगो भराउने फैसला गरेको थियो ।
अदालतले दिएको आदेशलाई स्वीकार गर्दै नेपाली कांग्रेस सर्लाहीको सभापति पदबाट राजीनामा दिएको सिंहले जारी गरेको पत्रमा उल्लेख छ ।
‘आफुमाथि लगाइएको मुद्दा अदालतबाट सदर भएको अवस्थामा छ,’ उनले भने, ‘अदालतको आदेश मान्नु मेरो कर्तव्य पनि हो ।’
पार्टीको जिम्मेवार पदबाट राजीनामा दिएपनि आफू सदैव नेपाली काँग्रेसप्रतिको आस्था र विचारलाई अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला सभापतिबाट सिंहले राजीनामा दिएपनि कार्यवाहक तोक्न भने बाँकी छ । २०७८ साल फागुन २९ गते सर्लाही सभापति पदमा निर्वाचित भएका सिंह दुई पटक पाटीको जिल्ला उपसभापतिको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया