Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

फोटोग्राफीमा क्रेज बढ्यो, फोटो स्टूडियोको व्यवसाय खस्कियो

रातो कागज
4 घण्टा अघि

काठमाडौं । कुनै समय यस्तो थियो–बजारका फोटो स्टुडियोहरुमा फोटो खिच्न लाइन बस्नुपर्ने, पालो कुर्नु पर्दथ्यो । व्यवसाय पनि उसैगरी चम्किन्थ्यो । खिचेको फोटो धुलाएर लिन हप्ता दिननै कुर्नुपर्ने अवस्था थियो ।

तर समय बदलियो । प्रविधिको विकासले स्टूडियोसम्म धाउनेहरु मोवाइलमै अभ्यस्त हुनथाले । स्टूडियोसम्मै पुग्नेहरुको संख्या पातलिएको छ । झकिझकाउन र भरिभराउ हुने फोटो स्टूडियोहरु खुम्चिएका छन् । व्यवसाय साँघुरिएको छ ।

एन्ड्रोइड र आइफोन मोबाइल सेटमा सुविधायुक्त क्यामेराले फोटोप्रेमीहरुलाई भुलाइदिएको छ । स्टुडियोमा गएर फोटो खिच्ने चलन हराँउदै गएको छ । फोटो धुलाएर अर्थात प्रिन्ट गरेर एल्बममा राख्ने चलन हराउँदै गएको छ ।

तर व्यवसायीहरुको बुझाइमा स्टूडियोमा व्यावसायको तौर तरिका र शैली फेरिएको छ । तर फोटोग्राफी बदलिएको छैन् ।

काठमाडौं न्यूरोडमा रहेको फोटो कन्सर्न ६५ बर्षदेखि स्टुडियोकै रुपमा चलिरहेको छ । प्रबन्ध निर्देशक दिनेशराज अर्याल भने स्टूडियो चलाउने वा काम गर्ने तरिकाहरुमा भरपर्ने बताउँछन् । ‘हामी समय अनुसार काम गर्छौं । हिजोभन्दा आज झन राम्रो हुँदै गइरहेको जस्तो लाग्छ,’ उनी भन्छन् ।

‘६५ वर्ष पूरानो स्टुडियोे हो हाम्रो । फोटोग्राफी एउटा पेशा र व्यवसाय हो । यो क्षेत्रमा व्यवसायीहरू आउने जानेक्रम चलिरहन्छ । को ठिक छ र को जान्छ भन्ने कुरा समयले बताउने हो । त्यो व्यक्तिको व्यवसायीको इन्भेस्टमेन्ट, उसले गर्ने काम, तरिकामा भरपर्छ । हामी ६५ वर्षदेखि यही चोकमा टिकिरहेका छौँ । हिजोभन्दा आज झन राम्रो गरिरहेका छौं,’ उनले भने ।

उनले फोटोग्राफीले पहिला भन्दा अझै बढी विस्तृत रूपमा परिमार्जित र अझ बढी विस्तार हुँदै गइरहेको पनि बताए । हिजो स्टुडियोमा फोटो खिच्नुपथ्र्यो भने आज घरमै खिच्न सकिने भन्दै फोटोग्राफीले रूप परिवर्तन गर्दै आएको बताए ।

‘फोटोग्राफी कता गइरहेको छ, कतै यो व्यवसाय नै मरिरहेको त छैन भन्ने खालको जिज्ञासा हुनु स्वाभाविक हो । धेरै मानिसहरूले यही जिज्ञासा राख्छन् । तर यो क्षेत्र विस्तृत रूपमा परिमार्जित एवम विस्तार हुँदै गइरहेको छ । रूप परिवर्तन गर्दै आइरहेको छ । हिजो स्टुडियोमा फोटो खिच्नुपथ्र्यो भने त आज घरमै खिच्न सकिन्छ । फोटोलाई रूपान्तरण गर्ने एवम धुलाउने प्रक्रियामा केही परिवर्तनहरू आएको छ । जसले आत्मसाथ गर्न सक्यो, उसले व्यवसाय राम्रै गरिरहेको छ,’ उनले भने ।

उनले एन्ड्रोइड फोन अथवा राम्रो रिजोलुसन भएका क्यामेरा भएका फोनहरूको उत्पत्ति भएपछि फोटोग्राफीलाई झनै सहयोग पुगेको बताए ।

फोटो खिच्नुमात्रै फोटोग्राफी नभएको भन्दै फोटोले एउटा सिंगो कथावस्तु बताउने गरेका छन् । उनले फोटोग्राफीको क्षेत्रले आफ्नो हिसाबले विस्तार भएको र फोटोग्राफीकै कारण  मोबाइल, डीएसएलआरहरूको  बढी प्रयोग भएको बताए ।

‘एन्ड्रोइड अथवा राम्रो रिजोलुसन भएका क्यामेरा भएका फोनहरूको जब उत्पत्ति भयो फोटोग्राफीमा केही परिवर्तन आयो । घरघरमै फोटोग्राफर भएपछि फोटो किन खिच्न स्टुडियो जानुपर्यो ? फोटो खिच्नु मात्रै फोटोग्राफी होइन । फोटोले कथावस्तु बोकेको हुनुपर्छ । । इतिहासलाई सम्झाउने र उजागर गर्ने हुनुपर्छ,’ उनले भने ।

उनले अगाडि भने,‘फोटो खिच्नु मात्र ठूलो कुरा होइन । यसको एउटा प्रोसेस हुन्छ । खिच्नुदेखि कसरी धुलाउने, केमा धुलाउने, कसरी राख्ने भन्ने कुराहरु अन्तिमसम्म एउटा प्याकेजको रूपमा लिनुपर्छ । यसको क्षेत्र विस्तार भइरहेको छ । टेक्निकल इनोभेसनहरू या मोबाइलहरू, अर्थात डीएसएलआरहरूको प्रयोग बढ्दो छ । यो क्षेत्र साँघुरिएको होइन, विस्तार भएको छ । व्यवसायमा सहयोग पुगेको छ,’ उनले भने  ।

उनले सरकारले अनलाइन फर्महरू भराउने गरेकाले पासपोर्ट साइजको फोटो खिच्नको संख्या घटेको दाबी गरे । उनले अहिले पासपोर्ट नभएपनि फेमिली फोटो बढी खिच्ने गरेको बताए ।अहिले बजारमा पासपोर्ट साइजको फोटा खिचेर व्यवसाय चलाउँछु भन्नेको संख्या नरहेको बताए । व्यवसायलाई राम्रो गर्नलाई सरकार भन्दा पनि आफैं क्रियाशील बन्नुपर्ने उनको धारणा छ ।

बागबजारमा रहेको एम यस डिजिटलका सन्चालक लक्ष्मण खनाल फोटोग्राफी राम्रो व्यवसाय भएपनि पछिल्लो समय खस्किदै गएको बताउँछन् ।

‘पहिला राम्रो थियो अहिले धेरै कम भइरहेको छ । मैले डिजिटलको सुरुवात भएदेखि नै व्यवसाय सुरु गरेको हुँ । सुरु सुरुमा राम्रो थियो । ०७५–७६ साल पछाडि कम हुँदै गएको छ । पहिलो फूल साइजको फोटोहरु धेरै खिचिन्थ्यो अहिले त्यो बन्द जस्तै भएको छ । सबैको हात हातमा मोबाइल हुने साथै अनलाइन सिस्टमको विकासले व्यवसायमा कमी आएको छ,’ उनले भने ।

उनले अहिले फोटोहरु इन्डोर भन्दा पनि आउटडोरमा बढी सुट हुने गरेको बताए ।

उनले भने ‘हिजोआज फोटो सुटहरु गर्नलाई स्टूडियोमै आउनेहरुको संख्या घटेको छ । आउटडोरमा सुट गर्नेको संख्या बढेको छ । । विभिन्न ठाउँमा घुम्न जाने सुट गर्ने गर्छन् । पासपोर्ट र डिभी भर्नेको संख्या पनि एकदम कम छ’ ।

व्यवसाय गर्दा सरकारलाई कर तिर्नुपर्ने तर कुनै सेवा सुविधान नहुने भएकाले खर्च धान्नै कठिन भइरहेको उनले बताए ।

उनले भने ‘हामीले राज्यलाई कर चाँही तिर्छौं । समयमै नतिरे जरिवाना लाग्छ । तर राज्यबाट व्यवसायमा सेवा सुविधा र सुरक्षाको ग्यारेन्टीहरु छैन् । व्यापार ४० प्रतिशतले घटेको छ ।’

पछिल्लो समय फोटोग्राफीप्रति युवाहरुमा आकर्षण बढेपनि व्यवसायिक रुपमा खुलेका फोटो स्टूडियोहरुको व्यापार भने सन्तोषजनक नभएको स्टुडियो संचालकहरुको भनाइछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया