Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाजुरामा एमडीजीपी डाक्टरको रुपमा कार्की

रातो कागज
4 घण्टा अघि

बाजुरा । बाजुरामा एमडिजीपी डाक्टरको रुपमा आशिष कार्की आएका छन् ।

किस्ट मेडिकल कलेज ललितपुरमा अध्ययन सकेर निक साइमन संस्थाको सहयोगमा एमडीजिपीको डाक्टरको रुपमा उनी बाजुरा आएका हुन् ।

३ वर्षदेखि एमडिजीपी डाक्टर विहिन रहेको अस्पताल बाजुराले ३ वर्षको अन्तराल पछि एमडिजीपी डाक्टरको पद पाएको हो । यस अघि २०७९ पुस १४ मा तेह्रथुमबाट सरुवा भएर एमडिजिपी डाक्टरको रुपमा प्रेरित देवकोटा आएका थिए ।

बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रुपमा पाएको हो ।

भर्खरै बाजुरा आएका एमडिजिपी डाक्टरलाई अस्पताल परिवारले भव्य स्वागत समेत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।

उनले भने, ‘बाजुराका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पछी हट्ने छैन्। एमडीजीपी डाक्टर नहुँदा समस्या भोगीरहेका यहाँका स्थानीयलाई आफू आए पश्चात् सहज हुनेछ ।’

अस्पतालले ३ वर्षको अन्तराल पछि एमडीजीपी डाक्टर पाएकोमा एकदमै खुसि लागेको अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

उनले भने, ‘करिब ३ बर्ष पछी हामीले एमडीजीपी डाक्टर पाएका छौ ।यो बाजुरेली बासीहरुका लागी खुुसी कुरा समेत हो । जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सक आएपछि सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।’

एमडीजीपी चिकित्सक नहुँदा सामान्य घाउको शल्यक्रिया गर्न पनि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताएका छन् ।

एमडीजीपी चिकित्सक आए पश्चात एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाइल्स, हड्डी भाँच्चिएको लगायतका स्वास्थ्य समस्याको सहज रुपमा शल्यक्रिया हुने डाक्टर यादवले बताए ।

बाजुरामा एमडीजिपी चिकित्सक आउँदा सामान्य खालका अप्रेसन समेत हुने भएका छन् । जसले गर्दा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया