Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

रातो कागज
10 घण्टा अघि

चितवन, १ भदौः यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा विपन्नलाई निःशुल्क दाँतको इम्प्लान्ट प्रदान गरिने भएको छ । नारायणगढमा रहेको साइराम डेन्टल केयरमा १० जना विपन्न परिवारका व्यक्तिलाई निःशुल्क दाँतको इम्प्लान्ट गरिने भएको हो ।

दाँत नभएको ठाउँमा नयाँ दाँत प्रत्यारोपण गर्ने आधुनिक प्रविधिलाई ‘इम्प्लान्ट’ भनिन्छ । फाउन्डेसनका अध्यक्ष डा अजय न्यौपानेका अनुसार अतिविपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने छ । इम्प्लान्ट प्रविधिबाट दाँत प्रत्यारोपण गर्न महँगो भएकाले आर्थिक रूपमा कमजोर मानिसलाई लक्षित गरी निःशुल्क दाँतको प्रत्यारोपण गर्न लागिएको उनले बताए ।

एउटा दाँत राख्न नै रु एक लाख हाराहारी खर्च आउने डा न्यौपानेको भनाइ छ । न्यौपानेले भने, “सबैलाई दाँत प्रत्यारोपण गर्न नसकिए पनि केही मानिसलाई मुस्कान दिन र आत्मबल बढाउन यो कार्यक्रम ल्याएका हौँ । उनका अनुसार अगाडिको दाँत नहुनेलाई प्राथमिकता दिइने छ । फाउन्डेसनले दाँत प्रत्यारोपणका लागि ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाई छनोट गर्नेछ । एउटा दाँत प्रत्यारोपण गर्नका लागि कम्तीमा तीनदेखि ६ महिना लाग्ने डा न्यौपानेले जानकारी दिए।

साइराम डेन्टल केयरले चितवनमा रहेर आठ वर्षदेखि दाँतको प्रत्यारोपण गर्दै आएको छ । विशेषगरी बायोहोराइजन कम्पनीका उत्पादन दुई वर्षदेखि प्रत्यारोण गर्न लागिएको उनको भनाइ छ । फाउन्डेसनका डा सरु थापाले अगाडिका दाँत नहुँदा मानिसमा आत्मबल पनि कमजोर हुने भएकाले विपन्नलाई सहयोग गर्न कार्यक्रम अघि सारिएको बताए । उनले भने, “फाउन्डेसनले अन्य दातासमेत खोजेर आफ्नो समेत सहयोगमा विपन्नलाई सहयोग गर्नेछ ।

चिकित्सक दम्पतीले फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ । चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विपन्न परिवारलाई खाद्यन्न तथा लत्ताकपडा वितरण, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका काम गर्दै आएका छन् ।

फाउन्डेसनका अध्यक्ष डा न्यौपाने भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख एवं जिल्लाका पुराना दन्त चिकित्सक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया